•            
    • TOKHA LIVE

    • ३ मंसिर २०७७, बुधबार १७:५३

    अमेरिकाले गर्‍यो ब्यालेस्टिक मिसाइललाई अन्तरिक्षमै उडाइदिने प्रविधिको सफल परीक्षण

    फक्स न्युज । अमेरिकाले इतिहासमै पहिलो पटक अन्तरिक्षमा उडिरहेको इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) लाई जंगी जहाजबाट अर्को मिसाइल हानेर सफलतापूर्वक खसाइदिएको छ । मंगलबार एक सफल परीक्षणका क्रममा ‘टार्गेट’ मिसाइललाई सफलतापूर्वक अर्को मिसाइल प्रहार गरेर खसाइएको अमेरिकाको मिसाइल डिफेन्स एजेन्सीलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

    ‘टार्गेट’ आइसीबीएम प्रशान्त महासागरमा रहेको परीक्षण केन्द्र मार्शल आइल्याण्डबाट प्रक्षेपण गरिएको थियो । अमेरिकाको हवाइ द्विप र फिलिपिन्सको बीचमा रहेको यो केन्द्रबाट स्थानीय समयअनुसार राती १२ बजेर ५० मिनेटको समयमा ‘टार्गेट’ मिसाइल प्रक्षेपण गरिएको थियो । यो मिसाइललाई समुद्रमा रहेको युएसएस जोन फिनबाट अर्को ‘गाइडेड’ मिसाइलले हानेर खसाइएको एजेन्सीले जनाएको छ ।

    ‘टार्गेट’ मिसाइललाई एसएम थ्री ब्लक आइआइए मिसाइल डिफेन्स इन्टरसेप्टरले हानेर खसाइएको हो । यो डिफेन्स इन्टरसेप्टर रेथियोन मिसाइल्स एण्ड डिफेन्स र जापानको मित्सुबिसी हेभी इण्डष्ट्रीजले विकास गरेका हुन् । एमडिएका निर्देशक भाइस एडमाइरल जोन हिलले आइसीबीएम प्रकारको लक्ष्यलाई सफलतापूर्वक आकाशमै उडाउने प्रविधिको सफल परीक्षण निकै जटिल कोसेढुंगा भएको बताएका छन् ।

    यो यस किसिमको युद्ध प्रविधिको पहिलो परीक्षण हो । यसअघि आइसीबीएमलाई आकाशमै उडाउने प्रविधिको परीक्षण त भएको थियो तर त्यसमा जमिनमा रहेका इन्टरसेप्टरबाट परीक्षण गरिएको थियो । समुद्रबाट आइसीबीएम उडाएको यो पहिलो पटक हो । यसअघि अलास्का र क्यालिफोर्नियाका जमिनमा रहेका बेसबाट भने यो परीक्षण गरिएको थियो ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै