• TOKHA LIVE

    • २ माघ २०७७, शुक्रबार ०६:३६

    नेपाली भूभागमा भारतीय दाबी महाकाली नदीमा भारतीय तटबन्ध

    २०७७ माघ २ गते

    दार्चुला । महाकाली नदी बगिरहेको नेपाली भूभागमा बाँध बनाईरहेको भारतले सो भूमि आफुहरुकै भएको दाबी गरेको छ । केही महिनाअघि देखी महाकाली नदी मिचेर एकलौटी तटबन्ध बनाईरहेको भारतले सो भूमि नेपालको नभई भारतकै भएको दाबी गरेको हो । महाकाली नगरपालिका–५ गल्फै क्षेत्र भौरादगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारि भारततर्फ हाल सुरक्षा/चेक वाल बाँध बनिरहेको स्थान महाकाली नदीमा बाढीपूर्व साविक नेपालतर्फकै भूमि रहेको दार्चुला सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताइन् । महाकाली नदी पारिपट्टी उत्तराखण्डको पिथौरागढको धारचूला जिल्ला पर्दछ । नेपालले पुष २ गते सो भूभाग नेपालको रहेकाले तत्कालै बाँधको काम रोक्न पत्र समेत पठाएको थियो । तर, त्यसलाई बेवास्था गर्दै भारतले लगातार नदीको बहाव सानो बनाउने गरी बाँध बाधिरहेको छ ।

    भारतको राज्य सिंचाई विभागद्वारा बनाईरहेको सो बाँधका विषयमा नेपालले पटक पटक आवाज उठाईरहेको छ । महाकाली नदीमा आउने बाढीले विगतमा दुवैतर्फ कटान गरेपछि भारतले खलंगाको सीमा क्षेत्रमा रहेको नेपाली भूमी नै मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको हो । महाकाली नदीको वहावलाई साघुरो बनाउने गरी तटबन्ध बनाउन थालेपछि नजिकै रहेका खलंगावासीमा त्रास छाइरहेको छ । भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षती व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि आउँदो वर्षामा के हुने हो भनेर त्रसित बनेका छन् । महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो ।
    नेपालले आफ्नो भूमि भएको बताएपनि भारतका पिथौरागढका जिल्लाधिकारी विजय जोगदांडेले सो भूमि भारतकै भएको दाबी गरे । भारतीय समाचार एजेन्सी ‘एएनआइ’लाई दिएको अन्तर्वार्तामा उनले भने, ‘यो परियोजना राज्य सिंचाई विभाग (एनएबिएआरडी)को माध्यमबाट स्विकृत गरिएको हो । हाम्रो जाँचमा पाइएअनुसार जहाँ निर्माण कार्य भईरहेको छ, त्यो भारतीय सीमाभित्रै छ ।’ नेपालका अधिकारीहरुले भने सो ठाँउ नेपालको भएको बताउछन् ।

    विगतमा भन्दा महाकालीको बहाव नेपालतर्फ आएकाले नेपाली भूभाग नदी पारिपट्टी भएको अधिकारीहरुको भनाई छ । नदीको वहाव फेरिएपछि भारतले बाँध बनाईरहेको हो । पुष २ गते भारतलाई पठाइएको पत्रमा, ‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको’, उल्लेख थियो ।

    भारतले एक सय हाराहारीमा कामदार खटिएर निरन्तर कार्य गरिरहेको छ । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले नेपालले बनाउँदा भारतले पहिला रोकेपनि अहिले आफै बनाउन थालेको भन्दै असन्तुष्टि पोखे । ‘उसले चाहिँ कसरी एक्लौटी गर्न सक्छ ? नेपालको भूमि हामी एक इन्च छाड्दैनौं’, उनले भने । आयोजनाका तर्फबाट हुने पहलका लागि आफू जतिबेला पनि तयार रहेको उनले बताए । अहिले भारतले बाँध बनाइरहेको भूभाग नदीले धार परिवर्तन गर्नुभन्दा अघि नेपालकै भुभाग रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले बताए ।

    बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो । भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको हो ।

    भारतले एस्काभेटर, जेसीबी आदि उपकरणबाट उत्खनन गरिरहेको छ । यसविषयमा दार्चुला जिल्ला प्रशासन कार्यालयले गृह र परराष्ट्र मन्त्रालयलाई पनि पत्रचार गरेर जानकारी दिएको थियो । जवाफ नआएपनि स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण भएकाले त्यसैमा कुरा उठ्ने जानकारी दिएको छ । मन्त्री ज्ञवालीको भ्रमण भईरहेका बेला भारतीय पक्षले सो भूमि आफ्नो भनेर दावी गरिरहेको छ ।

    यसैबीच, भारतले सीमा नदी महाकालीभन्दा पारिपट्टी सुरक्षा मजबूतिका लागि भन्दै सशस्त्र सीमा बल (एसएसबी)का पाँच बार्डर आउट पोष्ट (बीओपी) निर्माण गर्ने भएको छ । त्यसमध्ये भौरीको फेरीघाट, अमतडीमा बिओपी भवन निर्माणको काम शुरु गरेको छ । बीओपी बनेपछि सीमामा नियमित गस्ती, मादक पदार्थको तस्करीमा रोक, ट्युबबाट अवैध तरिकाले हुने घुसपैठ रोक्नुका साथै सीमामा हुने हरेक गतिविधिमा निगरानी गर्न सकिने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै