२०७७ पुष २६ गते
काठमाडौं । टोखाको एक अपार्टमेन्टमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरीको शव शंकास्पद अवस्थामा भेटिएको हो । ग्रान्ड भिल्लामा अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृत अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । उमेश कोठाको बेडमा लडिरहेको र श्रीमति पासोमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । उमेश दशैको अष्टमीका दिन अमेरिकाबाट आएका थिए भने उनि माघ १ गते फर्किने तयारीमा थिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल पुगेर मुचुल्का उठाएको थियो । डीएसपी विष्टका अनुसार उमेशको टाउकोमा गम्भीर चोट देखिन्छ । घटनास्थल नजिकै ढुंगा फेला परेको कारण उनको हत्या भएको देखिएको छ । ‘हामीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि टिचिङ पठाएका छौं । घटना शंकास्पद देखिए पनि के कारणले मृत्यु भएको भन्ने अवस्था छैन’, विष्टले भने,‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’
श्रीमान् श्रीमती बिच विवाद हुँदा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । तर, केटा पक्षका अनुसार दुवै जनाबीच त्यस्तो कुनै विवाद रहेको आफुहरुले थाहा नपाएको बताएका छन् । २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रिनकार्ड समेत पाएका थिए । पारिवारिक स्रोतका अनुसार उमेशको एक कम्पनीमा करिव आठ देखी १० करोडको शेयर रहेको र त्यसमा केही विवाद भने रहेको स्विकार गरेका छन् । उनिहरुले पत्नीसँग भन्दा पनि अन्यसँग उमेशको विवाद रहेको बताएका हुन् ।
उमेशको माइला दाजु हिमेशले घटना शंकास्पद भएकाले प्रहरीले निष्पक्ष छानबिन गर्नुपर्ने बताए । शव पोष्टमार्टमका लागि अस्पताल लगेपछि मात्रै उमेशका पारिवारलाई खवर गरिएको थियो । ‘सगुन भन्ने कम्पनीमा उमेशको आठदेखि १० करोड रुपैयाँ लगानी थियो । उक्त लगानीबारे विवाद बढेको पनि हो । त्यही कारणले उसको हत्या भएको आशंका छ’, हिमेशले भने । उनका अनुसार उमेशसँग उनि गत मंगलबार मात्रै खाजा खाएर छुट्टिएका थिए । यद्यपी त्यसबीचमा आफुहरुको सम्पर्क नभएको र शनिवार भेट्ने कुरा भने भएको उनले बताए । हिमेशले भाइबुहारीबीच त्यस्तो कुनै पनि विषयमा खटपट नभएको जानकारी समेत गराए । बानेश्वर घर भए पनि बुहारीको माइती नजिक पर्ने भएकाले उमेश टोखामा अपार्टमेन्ट लिएर बसेका थिए ।
प्रहरीले यो घटनालाई लिएर सुदीक्षाको दिदी शर्मिलालाई समेत सोधपुछ गरेको छ । उनले घटना थाहा पाएर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सोधपुछ गरेको प्रहरी उच्च स्रोतले बतायो । उमेश दम्पत्ती जुन अपार्टमेन्टमा बस्थे घटनास्थलमा प्रहरीले मुचुल्का उठाउँदा उक्त अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको अवस्थामा छ । प्रहरीले उक्त अपार्टमेन्टको सीसीटीभी फुटेज हेर्दा समेत त्यस्तो शंकास्पद केही प्रमाण नभेटेको जानकारी गराएको छ ।

