• TOKHA LIVE

    • १९ पुष २०७७, आईतवार ०८:२६

    ई–पासपोर्टमा ३५ राष्ट्रिय तस्विर

    २०७७ पुष १९ गते

    काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट)को पेजमा राख्ने ३५ वटा राष्ट्रिय तस्विर छनौट भएका छन् । विभिन्न पृष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत दिएको हो । सरकारले पासपोर्टमा राख्नका लागि सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो चयन गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णयपछि ई–पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन् ।

    पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ । तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् ।

    २० र २१औं मा कुमारी, २२ र २३औं मा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औं मा जुम्लाको सिंजा उपत्यका, २८ र २९औं मा देशय् मरू झ्या, ३० र ३१औं मा जानकी मन्दिर, ३२ र ३३औं मा करुवा, ३४ र ३५ औं मा हात्ती, ३६ र ३७औं मा रानीपोखरी र ३८ र ३९औं मा हनुमानढोका दरबारका फोटो रहरनेछन् ।

    ४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३औं मा भुर्तिका देवल, ४४ र ४५औं मा पाटन दरबार क्षेत्र, ४६ र ४७औं मा पुतली, ४८ र ४९ औं मा बौद्धनाथ, ५० र ५१औं मा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औं मा महाकाली पुल, ५४ र ५५औं मा कृष्णसार, ५६ र ५७मा ट्रेकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९औं मा रानीमहल, ६० र ६१ औं मा रारा ताल, ६२ र ६३औं मा माथिल्लो तामाकोसी र ६४ औं मा सिंहदरबारको तस्वीर रहनेछ । तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको छ ।

    अहिले नेपालले मेसिन रिडेबल पासपोर्ट प्रयोग गरिरहेको छ । अब अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)को मापदण्ड अनुसार नेपालले पनि विद्युतीय राहदानी प्रयोग गर्न लागेको हो । यो पासपोर्टमा विद्युतीय चिप जोडिएको हुन्छ, जसमा सम्पूर्ण व्यक्तिगत विवरण राखिएको हुन्छ । जसलाई मेसिनले सहजै रिड गर्नसक्नेछ । यो कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सरकारले ई–पासपोर्ट छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ (२ करोड ११ लाख अमेरिकी डलर) मा ई–पासपोर्टको छपाईको ठेक्का पाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै