• TOKHA LIVE

    • १७ पुष २०७७, शुक्रबार ०९:४९

    पेसाबाट पलायन हुँदै इलामका पत्रकार

    • टीका खतिवडा २०७७ पुष १७ गते

    इलाम। नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेसामा छैनन् । उनी यतिबेला मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् । करिब दुईदशक लामो पत्रकारिता पेसा उनले परिवर्तन गरेका छन् । लामो समयसम्म अन्नपूर्ण पोस्टसँग आबद्ध भएर उनले जिल्लामा रही पत्रकारिता गरे । उनले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गरेका थिए । तर पत्रकारितामा भविष्य नदेखेर भट्टराईले यो पेसा छोडेको बताए । उनीले मात्रै होइन, उनकी पत्नीले समेत पत्रकारिता पेसा छाडेकी छन् । उनकी पत्नी कमला भट्टराई पनि काठमाडौंबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत थिइन् । तर, उनीहरू दुवै जनाले उक्त पेसा छोडेर हाल फरक काम गर्न थालेका छन् । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थालेकी छन् ।

    ०६५ सालबाट प्रकाशित जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उनीहरू फरक पेसामा लागेका छन् । पत्रकारिता धेरै व्यस्त हुने पेसा हो तर उनीहरूको अहिलेको दैनिकी त्योभन्दा कम व्यस्त छैन । ‘पहिलेभन्दा धेरै व्यस्त भइएको छ,’ रोहितचन्द्र भट्टराईले भने । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उनी खटिने गरेका छन् । उनलाई पत्रकारिता पेसाप्रति भने सम्मान छ । गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताइन् । पत्रकार महासंघकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लागेका छन् । उनले रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गरेका थिए । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रूपमा ख्याती कमाएका उनले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रूपमा आफूलाई व्यस्त बनाएका छन् । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् । उनले पनि जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधानसम्पादकसमेत रहेर काम गरेका थिए ।

    उनी पनि हाल पत्रकारिता छोडेर राजनीतिमा नै क्रियाशील छन् । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भए । तर, उनी पनि हाल पत्रकारितामा सक्रिय छैनन् । जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरेका उनले पनि हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहेका छन् । साहित्य लेखनमा सक्रिय उनको अहिलेको पेसा भने पत्रकारिता होइन । नेपाल टेलिभिजनका पूर्वजिल्ला समाचारदाता प्रभाकर प्रधान हाल व्यवसायमा क्रियाशील छन् । उनीजस्तै नुतन रञ्जितकार, मोहनमान श्रेष्ठ पनि हाल पत्रकारिताभन्दा पनि व्यवसायमा नै आफ्नो सबै समय बिताउने गरेका छन् । महासंघका सदस्य भएर पनि मदन कुमार खड्का र उत्तम पौडेल जिल्लामा अधिवक्तारूपमा नै आफ्नो पेसा स्थापित गरिसकेका छन् । होम ढकाल अहिले सीमावर्ती क्षेत्रका कार्यरत संस्था माइती नेपालमा आबद्ध भएका छन् ।

    यस्तै ठाकुरनारायण श्रेष्ठ र जयकुमार राई जनप्रतिनिधिकैरुपमा जनताका सेवामा सक्रिय भएका छन् । श्रेष्ठ इलाम नगरपालिका–५ का वडाध्यक्ष भएका छन् भने राई सूर्योदय नगरपालिकाको एक वडाको वडा सदस्य छन् । केशव द्यौराली, भीम संगम कार्की, प्रकाश अधिकारी, बेदमाया मुखिया, गोविन्द लामिछाने, युवराज पिसी, विचारसिंह लावती, विमल दाहाल हाल एनजिओमा आबद्ध भई काम गरिरहेका छन् । माधव गुरुङ, बेनुप भट्टराई र इन्दिरा घिमिरे हाल विदेशमा छन् । लक्ष्मी मिश्र हाल सूर्या लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक रहेर काम गरिरहेका छन् । गोविन्द मिश्र सवारी व्यवसायीका रूपमा जिल्लामा सेवा दिइरहेका छन् । पत्रकारिता क्षेत्रमा निकै लामो समय काम गरिसकेर पनि उनीहरूले पेसा परिवर्तन गरेका छन् ।

    गोरखापत्र दैनिकमा रहेर जिल्लाबाट क्रियाशील बुद्धवीर राई यति बेला दक्षिण कोरियामा छन् । दुसवी भट्टराईसमेत विदेशमा नै कार्यरत छन् । सञ्चारमाध्यमले समयमा पारिश्रमिक नदिने, दिए पनि कम दिने भएकाले बाँच्नका लागि पनि पेसा परिवर्तन गर्नुपरेको उनीहरूले बताए । पत्रकारितामा रहँदारहँदै मिहिनेत गरेर केही पत्रकार निजामती सेवातर्फसमेत लागेका छन् । महासंघ इलामका पूर्वसचिव अशोककुमार बान्तवा, अमृत सुब्बा, देवेन्द्र चापागाईं, दिलकुमार लिम्बू, कोपिला बस्नेतले राष्ट्र सेवकका रुपमा सेवा दिइरहेका छन् । हेमराज ढकाल इलाम नगरपालिकामा कार्यरत छन् । यसै गरी पत्रकार महिला पनि विवाहपछि पेसाबाटै पलायन हुने गरेका छन् । उर्मिला सुवेदी, तीर्थकुमारी तिम्सिना, मेनुका भट्टराई, कमला थापा, कृष्णकला खतिवडा, मिना खतिवडा, रेश्मा अधिकारी, सावित्रा गुरगाइँ सञ्चारमाध्यममा सक्रिय छन् । डिल्ली चापागाईं, कमल श्रेष्ठ, कुबेर निरौला, हरिप्रसाद लुइँटेल, जीवन शर्मा, खगराज घिमिरे, कुमार गुरुङ, कौशिला राई, योगेन्द्र शंकर, सन्तोष नेम्वाङ, प्रेमप्रसाद भण्डारी, बलराम बराइली, मिलन आचार्य, विष्णुप्रसाद गड्तौला, दुर्गा भवानी पोख्रेल, बुद्धमाया सोङ्मीसमेत पत्रकारिताभन्दा फरक पेसामा रमाउन थालेका छन् । गोपाल दाहाल हाल युनियन लाइफ इन्स्योरेन्स इलामका शाखा प्रबन्धकका रूपमा कार्यरत छन् । सरोज खतिवडा, सरोज कट्वाल, सुवास भट्टराई, सुवास गुरगाइँ, योगराज सापकोटा, सुप्रिया श्रेष्ठलगायत सञ्चारकर्मी पनि अन्य पेसा, व्यवसाय र रोजगारीमा रहेर घर व्यवहार चलाउँदै छन् ।

    उनीहरू मात्रै मात्र होइन, पछिल्लो समय पत्रकार महासंघको सदस्यता लिएका पनि अन्य क्षेत्रमा नै बढी क्रियाशील छन् । विभिन्न पेसागत तथा व्यावसायिक संघसंस्थामा क्रियाशील भए पनि सञ्चारमाध्यममा कम समय दिने पत्रकारको संख्या बढ्दो छ । पहिला सञ्चारमाध्यमले तालिम, गोष्ठी आदि गरी नयाँ पत्रकार उत्पादन गर्ने गर्दथे । अहिले यस्तो परम्परा घट्दै गएको छ । युवायुवतीमा सञ्चारमाध्यमप्रतिको रुचि कम हुँदै गएका कारण पनि तालीम हुन छोडेको बताइन्छ । पहिला पत्रकारिता तालिमको आयोजना हँुदा सयौँको संख्यामा प्रशिक्षार्थी सहभागी हुने गरेकामा हाल त्यति आकर्षण नरहेको पत्रकार महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा रेडियो नेपालबाणी एफएम इलामका स्टेसन म्यानेजर सोम सुशेलीले बताए । उनका अनुसार पछिल्लो समय सञ्चारमाध्यममा काम गर्नेको कमी हुँदै गएको छ ।

    जिल्लामा हाल ६ वटा रेडियो सञ्चालित छन् । दुई वटा दैनिक पत्रिका र एउटा साप्ताहिक पत्रिका छ । केही अनलाइन हाल क्रियाशील छन् । पछिल्लो समय अनलाइन पत्रकारितातर्फ धरैको चासो बढेको नयाँ बुलन्द डटकम इलामका सम्पादक राल लिम्बूले बताए । पछिल्लो समय अनलाइन सञ्चारमाध्यमको विकास हुँदै गएको छ । अहिले पत्रकारिता गर्न चाहने कतिपय युवायुवतीहरू अनलाइनमा आउन चाहन्छन् तर, रेडियो र पत्रिकामा उनीहरूको रुचि छैन । यस्तै यो क्षेत्रमा कमाइ राम्रो नभएकाले पनि आकर्षण घटेको जानकारहरू बताउँछन् ।

    जिल्लामा हाल करिब २० जनाको हाराहारीमा मात्र क्रियाशील पत्रकार रहेको बताइएको छ । तर पत्रकार महासंघमा यसवर्ष ४७ जना सदस्य थपिएको महासंघ इलामका उपाध्यक्ष सुजन तिम्सिनाको भनाइ छ । उनका अनुसार त्यसअघि महासंघमा १ सय ३८ जना आबद्ध भएका थिए । हाल महासंघमा १ सय ८५ जना आबद्ध भएको बताइएको छ । नेपालका सबै सञ्चारमाध्यमले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्नु पत्रकार पलायन हुनुको मुख्य कारण रहेको बताइने गरेको छ । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेर यसको अनुगमन गर्ने बताए पनि यो नियम कार्यान्वयन हुन नसक्दा यस्तो समस्या रहने गरेको धेरैजसो पत्रकारको भनाइ छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै