• TOKHA LIVE

      TOKHA LIVE

    • १२ पुष २०७७, आईतवार १८:०६

    “ म नै त्यस्तो भाग्यमानी हुँ जो ५ भन्दा तल नपढी पाँचमा भर्ना भएको थिएँ “ नवनियुक्त शिक्षामन्त्री कृष्णगेपाल श्रेष्ठ

    २०७७ पुष १२ गते

    काठमाडौं । “एकै पटक कक्षा ५ मा भर्ना गरेर विद्यालय शिक्षा शुरु गरेको यहाँ कोही हुनुहुन्छ ?” सभाकक्षमा एकाएक सुनिएको यो प्रश्नको जवाफमा “म छु” भन्ने कोही देखिएन । कसैको हात नउठेको देखेपछि दायाँबायाँ हेर्दै नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुसुक्क हाँस्दै भने, “म नै त्यस्तो भाग्यमानी हुँ जो कक्षा ५ भन्दा तलका कक्षा नपढीकन एकैपटक पाँचमा भर्ना भएको थियो ।”

    विसं २०२५ मा नुवाकोटको त्रिशूली बजारस्थित तत्कालीन ‘त्रिभुवन त्रिशूली हाइस्कूल’ मा कक्षा ५ मा भर्ना भएको र त्यसबेला त्यहाँ पाटनबाट गएका प्रधानाध्यापक शारदामान श्रेष्ठ रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले शिक्षा र आफ्नो नाता थप जोड्न थाले । शायद आमाले ज्याला मजदूरी गरेर हुर्काएकाले सानो छँदा श्रेष्ठले कक्षा १ देखि भर्ना हुन पाएनन् ।

    विसं २०३१ मा त्यहीँबाट प्रवेशिका उत्तीर्णपछि पञ्चायतविरोधी भूमिगत राजनीतिमा सामेल हुँदै २०३५ सालमा काभ्रेपलाञ्चोकको बनेपास्थित आधार माविमा विज्ञान र ऐच्छिक गणित शिक्षक भएर केही समय काम गरेको अनुभव पनि मन्त्री श्रेष्ठले सुनाए । विद्यार्थीलाई विषयगत शिक्षाका साथै मोदनाथ प्रश्रितको ‘पचास रुपियाँको तमसुक’ जस्ता कृतिबाट राजनीतिक चेतनायुक्त शिक्षा पनि दिएको उनका स्मरण छन् । विघटित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ आफ्नो विद्यार्थी रहेकामा उनले गर्व गरे । विसं २०१५ मा काठमाडौँमा जन्मिएका श्रेष्ठ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका संयोजक हुन् ।

    प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढेका श्रेष्ठले स्नातक भने अर्थशास्त्रमा गरेका हुन्। आफ्नो उच्चशिक्षाको अनुभव सुनाउने क्रममा उनले त्यसबेला चिकित्सा शिक्षाका लागि रुसबाट प्राप्त छात्रवृत्तिमा जान नेकपाका दिवङ्गत नेता जीवराज आश्रितसँग सोध्दा ‘छात्रवृत्तिमा पढ्न जाँदा निश्चित विषयका डाक्टर बन्न सक्ने तर स्वदेशमै राजनीतिमा लागेमा नेपाली जनताको सेवा गर्ने डाक्टर बन्न सक्ने’ सल्लाह दिएका कारण आफू अहिले राजनीतिमा सक्रिय रहेको रोचक प्रसङ्ग सुनाए ।

    स्वाभिमान बढाउने शिक्षा प्रणालीमा जोड

    शहरी विकास मन्त्रालयमा ७५ दिन नेतृत्व गरी शिक्षामा आएका मन्त्री श्रेष्ठले मन्त्रालयमा पदबहालीपछि सचिवद्वय गोपीनाथ मैनाली र डा सञ्जय शर्माका साथै अन्य कर्मचारी तथा विभिन्न निकायका प्रमुखलाई सम्बोधन गर्दै देशको विकास र स्वाभिमान बढाउने शिक्षा प्रणालीतर्फ आफूहरु केन्द्रित हुनुपर्ने आग्रह गरे।

    विसं २०६१ मा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ विसं २०४८ को आमनिर्वाचनमा जननेता मदन भण्डारीले छाडेको काठमाडौंँ क्षेत्र नं ५ मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए। उनी विसं २०५१ मा काठमाडौँ क्षेत्र नं ७ बाट पुनःनिर्वाचित भए । विसं २०५६ र २०६४ निर्वाचनमा सोही क्षेत्रका प्रत्याशी उनी विसं २०७४ को निर्वाचनमा काठमाडौँ–९ बाट विजयी भएका थिए।

    राम्रो पढ्नेलाई शिक्षण र राजनीतिमा लाग्न आग्रह

    मन्त्री श्रेष्ठले जापान, जर्मनी, बेलायत, चीन, दक्षिण कोरिया आदि मुलुकको उदाहरण दिँदै कुनै पनि मुलुकको विकास र प्रगतिमा शिक्षाको गुणस्तर पहिलो शर्त हुने भएकाले मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राख्ने सक्ने वातावरण बनाउनुपर्ने बताए । जापानमा अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो पढाउने बारेमा चिन्ता गर्ने र ती विद्यार्थीले पढिसकेपछि जागीरको पहिलो रोजाइ शिक्षणलाई बनाउने गरेको, चीनमा विभिन्न विधाका मेधावीलाई राजनीतिमा सामेल गराउने गरेको तर नेपालमा कतै जागीर नपाएपछि शिक्षक र पढाइमा कमजोर भएकाहरु राजनीतिमा लाग्ने गर्नाले मुलुकको प्रगति नभएको तर्क राखे।

    राम्रो पढ्नेले राजनीतिलाई घृणा गर्ने अवस्थाको पनि अन्त्य गराउनुपर्ने उनको भनाइ थियो । नेपालका शिक्षकको सुविधा आकर्षक नभएकाले उनीहरुले पढाउने पेशासँगै वैकल्पिक पेशामा पनि ध्यान दिने भएकाले शिक्षामा गुणस्तर नआएको जिकिर गर्दै मन्त्री श्रेष्ठले कतै नपाएपछि शिक्षक हुने प्रवृत्ति अन्त्यका लागि गम्भीर हुनैपर्ने बताए ।

    ‘राजनीतिक झोला मन्त्रालय बाहिर’

    मन्त्री श्रेष्ठले एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिअनुकूल शिक्षाको विकासका लागि दूरगामी योजनाका साथ आफूले इमान्दार भएर काम गर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक रहेको बताए । आफू नेकपाको नेता भए पनि मन्त्री हुँदा देश र जनताको हितलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई राजनीतिको झोला मन्त्रालय परिसर बाहिरै राख्न निर्देशन दिए ।

    ‘राम्रा कामलाई निरन्तरता’

    मन्त्री श्रेष्ठले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा भएका राम्रा कामको निरन्तरता हुने र अपूरा तथा गलत कामलाई सुधार गरिने बताए । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका केही सदस्यले आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गरेको तर्फ लक्ष्य गर्दै उनले त्यस्ता काम आफूबाट नहुने बताए । कर्मचारीलाई सही सल्लाह र परामर्श दिन आग्रह गर्दै मन्त्री श्रेष्ठले भने, “म शिक्षाको यस पोखरीमा फाल हालिसकेको छु, म यसलाई पारि तार्न चाहन्छु । डुब्न लागेमा बचाउनुहोला । तीरमा बसेर तमासा नहेर्नुहोला ।”

    पहिलो निर्णय

    मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा खगेन्द्रप्रसाद अधिकारीको सेवा शर्तसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लाने टिप्पणीमा सदर गरी पदबहाली गर्नुभएको छ । सो प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद् लान लागिएको हो ।

    मन्त्री श्रेष्ठलाई मन्त्रालयमा आउँदा सचिवद्वय मैनाली र शर्मालगायत कर्मचारीले स्वागत गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै