• TOKHA LIVE

    • १५ मंसिर २०७७, सोमबार ०९:४१

    बेलायती विश्वविद्यालयमा सय वर्षदेखि हुंदै आएको नेपाली पढाइ बन्द

    मंसिर १५, २०७७ सोमवार

    टोखा लाइभ ।बेलायतस्थित एक विश्वविद्यालयमा झण्डै एक सय वर्षदेखि हुंदै आएको नेपाली भाषाको पढाइ बन्द भएको छ ।

    ‘स्कुल अफ अरियन्टल स्टडिज्’ (सोआस्) यनिभर्सिटी लण्डनको नेपाली भाषा विभाग सम्हाल्दै आएका प्राध्यापक माइकल हटले अवकाश लिएपछि नेपाली भाषाको पढाइ नै बन्द भएको हो ।

    युनिभर्सिटीमार्फत लामो समयदेखि नेपाली भाषाको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै आएका प्राध्यापक हटले दुई महिनाअघि अवकाश लिएका हुन् । सोहि विश्वविद्यालयमा नेपाली भाषाको विद्यार्थी र प्राध्यापकका रुपमा उनले झण्डै ४ दशक बिताएका थिए ।

    सोआस् युनिभर्सिटीले जनशक्तिको अभावमा नेपाली भाषाको पढाइ बन्द गर्नुपरेको बताएको छ । युनिभर्सिटीको वेबसाइटमा ‘स्टाफ रिटायरमेन्ट’ को कारण नेपाली भाषाको पढाइ सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

    युनिभर्सिटी स्रोतका अनुसार झण्डै एक सय वर्षअघिदेखि नै सोआस् युनिभर्सिटीमा नेपाली भाषाको पठनपाठन शुरु भएको थियो । कुनै समय गोर्खा राइफल्समा समेत सेवा गरेका प्राध्यापक राल्फ एल टर्नरले सन् १९२० को दशकमा नेपाली भाषाको पढाइ शुरु गराएका थिए ।

    युनिभर्सिटीको अन्डरग्रयाजुएट डिग्रीका लागि आवश्यक जम्मा क्रेडिटको २५ प्रतिशतसम्म नेपाली भाषा विषयबाट हासिल गर्न सकिन्थ्यो ।

    पछिल्लो समय बेलायती विश्वविद्यालयहरुको शुल्क निकै महंगो भएसंगै धेरै विद्यार्थीको रोजाइ जागिर पाउन सजिलो हुने खालका विषयहरु बन्न थालेका छन् । यहि प्रवृत्तिको प्रभावस्वरुप सोआस् युनिभर्सिटीको नेपाली विषयमा विद्यार्थीहरु घट्दै गएको अनुभव प्राध्यापक हटले सुनाउँदै आएका थिए । फलस्वरुप उनको अवकाशसंगै सोआस् युनिभर्सिटीको एक शताब्दी लामो नेपाली भाषासंगको नाता पनि अब टुटेको छ।

    पश्चिमा मुलुकहरुमा पाठ्यक्रममै समावेश भएर नेपाली भाषाको पठनपाठन हुने सम्भवतः सोआस् नै एक मात्र विश्वविद्यालय थियो । जहाँ अझै पनि संस्कृति, हिन्दी, उर्दू र पञ्जावी भाषाको पढाइ हुने गरेको छ ।

    युनिभर्सिटीमा नेपाली भाषाको प्रवर्द्धनको लागि नियमित रुपमा विभिन्न गोष्ठी तथा कार्यशालाहरु हुँदै आएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै