टाेखा लाइभ कार्तिक १८
बंगलादेशबाट रासायनिक मल अब तत्काल नआउने भएको छ। गहुँ लगाउने समयका लागि रासायनिक मल ल्याउने तयारी भए पनि अझै समय लाग्ने देखिएको कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार अब केही दिनमा दुई देशका कम्पनीबीच मल खरीद सम्झौतामा हस्ताक्षरको तयारी भएको छ । हस्ताक्षर भएपछि खरीदका लागि मन्त्रिपरिषद् बैठकको अनुमतिसँगै प्रक्रिया शुरु हुनेछ ।
धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ ।
गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । मौखिक सहमति भएको दुई महिना बितिसक्दासमेत प्रक्रिया नटुगिङ्दा गहुँमा हाल्न मल अभाव हुने सम्भावना देखिएको छ।
कृषि कम्पनीले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्सको जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ । पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । कृषि कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको बताइएको छ ।
कात्तिक महिनामा मल खरीदको सम्झौतामा हस्ताक्षर गरेर मङ्सिर पहिलो सातादेखि ढुवानी हुने विश्वास गरिएको छ । बङ्गलादेशबाट निर्णय नआउँदा बोलपत्रमार्फत ढुवानीका लागि छनोट गरिएको कम्पनीसँग सम्झौता गर्नसमेत अन्योल भएको छ । कृषि मन्त्रालयले मल खरीदको जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको छ । कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

