• TOKHA LIVE

    • २१ आश्विन २०७७, बुधबार ११:०३

    बाघलगायत वन्यजन्तुको आक्रमणबाट तीन वर्षमा३६ जनाको मृत्यु

    असोज २१ बुधवार ।
    चितवन। बाघलगायत वन्यजन्तुकाे आक्रमणबाट चितवनमा गत तीन वर्षमा ३६ जनाको मृत्यु भएको छ।

    चितवन राष्ट्रिय निकुञ्जबाट आउने बन्यजन्तुले मध्यवर्ती क्षेत्रका बासिन्दाको ज्यान लिने गरेको छ। निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरको आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्यांक छ।

    जनावरको आक्रमणबाट आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ। यो वर्ष वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु भएको छ भने एक सय २० जना घाइते भएका छन्।
    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको छ भने ३२ जना घाइते भएका थिए। त्यस्तै आव २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने ३४ घाइते भएको सूचना अधिकारी रामले बताए।

    चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उनको भनाइ छ। मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ।
    निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको उनले बताए। विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए।

    निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए। उनका अनुसार पछिल्ला तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब ६ करोड राहत प्रदान गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै