
जिन्दगीभरि समाचार बन्न नसकेको
‘तिमी’ एकछिन समाचार बन्छौ
अखवार र अनलाइनमा नछापिएनि
टेलिभिजन , रेडियोले नफुकेपनि
मोवाइलमा भाइवर मार्फत
टेक्स्टमेसेज , फेसबुक
व्हाट्स अप र ट्विटरमा
तस्वीर सहित ‘ तिमी ’ खवर बन्छौं ।
आश्चर्य र दु:ख मिश्रित
दुईृचार शब्द लेखिन्छन्
जन्म र अवसान तिथि
सहितको तिम्रो तस्वीर मुनि
बुझ्नेहरु स्याड इमोजि थिच्छन्
नजान्नेहरु हतार हतारमा
ठूलै गुण गरे जस्तै गरी
लभ र लाइक इमोजि थिचेर
पोस्ट स्क्रोल गर्छन् ।
यदि तिमी नाम चलेका हौ भने
जिउँदै समवेदना पाइरहेको
मतलब पनि नगर्दै
तिमीसंग बसेका तस्वीर पोस्ट गर्दै
आफुलाई तिम्रो व्यक्तित्वसंग जोड्दै
छिन छिनमा रेस्पोन्स गन्छन्
आफ्नो पनि मर्ने पालो आउँदैछ ।
भन्ने यथार्थ बिर्सेकाहरु !!!
यदि कालले मरेछौ भने
मनमनै खुशीले गदगद भएपनि
मुखले ‘ बिचरो ’ भन्न भुल्दैनन्
तिम्रा परम शत्रु महाशयहरु !
तर अकाल मृत्युको खवरमा
आफ्नो प्रतिक्रिया जोड्न प्रायश :
धेरै अलमलिएकै देखेको छुं !
तिम्रो मृत्युको खवरमा
दुईथरिका मान्छे पनि देखिन्छन्
अन्तिम दर्शनका लागि घाट तर्फ
दगुर्न हतारिनेहरु
र, ‘ लाश आइपुग्यो घाटमा ?’
भन्दै छिनछिनमा सोधखोज गरी
तिम्रो मृत्युको कारण दिनचर्या
भताभुँग भो भन्दै दिक्क मान्नेहरु
तर अफसोच वर्तमान परिवेशमा
तिम्रो मृत्युको खवर गुपचुप हुन्छ
अन्त्येष्टि संस्कारबाट बन्चित
तिम्रो मृत्यु ‘ सन्त्रास ’ बन्छ
समय नै फेरिएको छ अहिले
तिम्रो आफन्त प्रत्यक्ष समवेदना
पाउनबाट बन्चित हुन्छन् ।
तिनीहरुले तिम्रो चिता जलेको
हेर्न पाउने छैनन् ।
तिम्रो अन्त्य पछिका
अन्य संस्कार चलाउन
पुरोहित आउने छैनन् ।
किनभने अहिले मान्छेबाट
मान्छे टाढिनुपर्ने गजबको
कर्फ्यु लागेको छ संसारैभरी
धन्न डिजिटल युगको कारण
‘ तिमी ’ अझै खबर बन्नबाट
रोकिएका छैनौ ।
कोहि न कोहिले तिम्रो ‘मृत्यु खवर’
फुत्त निकालि हाल्छन् , चुहाइ हाल्छन्
सामाजिक संजाल वा मोवाइल कल मार्फत !
–ओमशंकर श्रेष्ठ– १३ । भदौ । ०७७
भीमसेनस्थान , काठमाडौं ।

