• TOKHA LIVE

      TOKHA LIVE

    • २८ आश्विन २०८३, बुधबार १६:४४

    काभ्रेपलाञ्चोक भगवतीको दर्शन गरे प्रधानमन्त्री बालेनले

    नविना श्रेष्ठ

    काठमाडौं, असोज २८। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बुधबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै पलाञ्चोक भगवती मन्दिर पुगेका हुन्। मन्दिरमा नित्य पूजा भइरहेका बेला पुगेका उनले भगवतीको दर्शन तथा पूजाआजा गरेका थिए। प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीका साथै मन्दिरनजिकै रहेको कालीदेवीको समेत पूजाआजा र दर्शन गरेका छन्।

    स्थानीयका अनुसार प्रधानमन्त्री शाहले मन्दिर परिसरमा करिब १० मिनेट समय बिताएका थिए। प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन। उनी निजी पोसाकमा सुरक्षाकर्मीसहित मन्दिर पुगेका थिए। उनको भ्रमणलाई नियमित औपचारिक कार्यक्रमभन्दा फरक र आकस्मिक भ्रमणका रूपमा हेरिएको छ। पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ मा अवस्थित यस मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व रहेको छ। मन्दिरमा भगवतीको दर्शन गरेमा दुःख, विपत्ति र दुर्भाग्यबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।

    ऐतिहासिक मान्यताअनुसार पलाञ्चोक भगवती मन्दिर राजा मानदेवको शासनकालमा निर्माण गरिएको मानिन्छ। यस मन्दिरमा विशेषगरी दसैँको नवरात्रि र चैतेदसैँका अवसरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। देशका विभिन्न स्थानबाट श्रद्धालुहरू यहाँ दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन्। पलाञ्चोक भगवती मन्दिरमा नवरात्रिको अष्टमीका दिन राष्ट्रप्रमुखबाट दर्शन गर्ने परम्परासमेत रहँदै आएको छ। धार्मिक आस्था र ऐतिहासिक विरासतसँग जोडिएको यस शक्तिपीठले काभ्रेपलाञ्चोकको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। प्रधानमन्त्री शाहको बुधबारको भ्रमणले पलाञ्चोक भगवती मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै