बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका–२ स्थित महादेव कोलोनीमा योग अभ्यासका लागि निर्माण गरिएको योग भवनको उद्घाटन सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले संयुक्त रूपमा उक्त योग भवनको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
“सामूहिक सहभागितालाई अगाडि बढाऔँ” भन्ने सन्देशसहित निर्माण गरिएको उक्त योग भवनले स्थानीयवासीलाई नियमित योग अभ्यासमा सहभागी गराउँदै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
योग अभ्यासले स्वस्थ जीवनशैली विकास गर्न, मानसिक तनाव न्यूनीकरण गर्न तथा स्वस्थ र सक्रिय समाज निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ। साथै, उक्त भवनले टोलवासीबीच आपसी सहकार्य, एकता र सामूहिक सहभागिता अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा स्वास्थ्य प्रवर्द्धन तथा सामुदायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको योग भवनले महादेव कोलोनीका बासिन्दालाई नियमित योग अभ्यासका लागि सहज वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ।

