• TOKHA LIVE

      TOKHA LIVE

    • २७ आश्विन २०८३, मंगलवार १५:१५

    बुढानीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट घोषित

    बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका शिक्षाको क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भएको छ। PAN Nepal द्वारा गठित स्वतन्त्र विज्ञ मूल्यांकन समितिले विभिन्न शैक्षिक सूचकका आधारमा गरेको मूल्यांकनमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो।

    प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा रामप्रसाद सुवेदी र नन्दकुमारी महर्जन सदस्य रहेको समितिले मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको हो।

    उत्कृष्ट छनोट भएका प्रधानाध्यापक, विद्यालय तथा पालिकालाई PAN Nepal को आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म जनकपुरमा आयोजना हुने तेस्रो राष्ट्रिय सम्मेलनमा सम्मान गरिने कार्यक्रम रहेको छ। यसअघि पनि शिक्षालय नेशनल म्यागजिनको २०८० सालको मूल्यांकनमा बुढानीलकण्ठ नगरपालिका नेपालभरिबाट उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भई पुरस्कृत भएको थियो।

    नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षक बैंक, सघन शिक्षण–सिकाइ सेसन, कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन र विद्यार्थी सशक्तीकरणजस्ता कार्यक्रम नगरपालिकाका प्रमुख शैक्षिक पहलका रूपमा रहेका छन्।

    त्यसैगरी, कक्षा १० सम्म दिवा खाजा, सबै विद्यालयमा स्काउट कार्यक्रम, सर्वोत्कृष्ट नगर शिक्षक सम्मान, शिक्षण–सिकाइको प्राविधिक परीक्षण, अन्तरपालिका शैक्षिक साझेदारी तथा सार्वजनिक–निजी विद्यालय साझेदारी कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

    विद्यालय तथा प्रधानाध्यापकको मूल्यांकन र स्तरीकरणमार्फत शैक्षिक संस्थाहरूको कार्यसम्पादन सुधार गर्ने प्रयाससमेत नगरपालिकाले अघि बढाएको छ।

    शिक्षा क्षेत्रमा सञ्चालन गरिएका विभिन्न सुधारका कार्यक्रम र पहलका आधारमा प्राप्त यस उपलब्धिले बुढानीलकण्ठ नगरपालिकाको शैक्षिक पहिचानलाई थप उचाइ प्रदान गरेको छ। साथै, यस छनोटले आगामी दिनमा शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै