बुढानीलकण्ठ। अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा सेवा सुविधामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आज एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रम नगर प्रमुख मिठाराम अधिकारीको आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्या तथा चुनौती, पहुँचयुक्त भौतिक संरचना, अपाङ्गता परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँचलगायत विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अपाङ्गता भएका व्यक्ति, अभिभावक तथा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा तथा सुविधामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी, समावेशी तथा पहुँचयोग्य बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको सशक्तीकरण, आत्मनिर्भरता र सामाजिक सहभागिता अभिवृद्धिका लागि आगामी दिनमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

