• TOKHA LIVE

      TOKHA LIVE

    • २४ आश्विन २०८३, शनिबार १७:४७

    झोर महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु

    काठमाडौं । टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु गरिएको छ। तामाङ भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा मातृभाषाप्रतिको रुचि बढाउने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा पठनपाठनको शुभारम्भ गरिएको हो।

    कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षता तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका–७ का वडाध्यक्ष नरोत्तम राना, नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तान, घेदुङका ऊर्जा तथा वातावरण विभाग प्रमुख शशिकर लामा, प्रदेश प्रतिनिधि, पालिका अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले भाषा, संस्कार र संस्कृति हरेक समुदायका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मातृभाषाको संरक्षण सबैको साझा दायित्व भएको बताए। कुनै पनि कामको सुरुवात महत्त्वपूर्ण हुने भन्दै उनले सुरु गरिएको भाषा शिक्षालाई निरन्तरता दिँदै निर्धारित लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

    त्यसैगरी, उपप्रमुख मुरारी तामाङले मातृभाषा समुदायको पहिचानको महत्त्वपूर्ण आधार भएको बताए। नयाँ पुस्ताले मातृभाषा बोल्न छाड्दै जानु र मौलिक भाषा लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु हुनु संरक्षणको दिशामा महत्त्वपूर्ण कदम भएको धारणा व्यक्त गरे।

    नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तानले मातृभाषा शिक्षालाई घरपरिवार र समुदायसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले तामाङ भाषा शिक्षिका शान्त तामाङको भूमिकाको प्रशंसा गर्दै भाषा सिकाउनु भनेको शब्द र वाक्य सिकाउनु मात्र नभई आफ्नो पहिचान, इतिहास, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि भएको उल्लेख गरे।

    मुक्तानले नेपाल तामाङ घेदुङले तामाङ भाषा, लिपि तथा मातृभाषामा शिक्षाको विस्तारका लागि लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।

    कार्यक्रममा तामाङ भाषा शिक्षिका शान्त तामाङले मातृभाषा बोल्न छाड्नु आफ्नै संस्कार र संस्कृति बिर्सनुसरह भएको बताइन्। नयाँ पुस्तालाई आफ्नै भाषामा बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उद्देश्यले अध्यापन गराइरहेको उल्लेख गर्दै उनले भाषा संरक्षणको अभियानमा सहयोग र सहजीकरण गरेकोमा नेपाल तामाङ घेदुङप्रति आभार व्यक्त गरिन्।

    यसैबीच, टोखा नगरपालिका–७ को सौजन्यमा विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो। शैक्षिक सामग्रीले विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

    मातृभाषामा शिक्षाले बालबालिकालाई आफ्नो मौलिक पहिचान, इतिहास र सांस्कृतिक सम्पदाबारे ज्ञान हासिल गर्न सहयोग पुर्‍याउनुका साथै समुदायसँगको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै