नविना श्रेष्ठ
असोज २१, २०८३
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता गगनकुमार थापाले केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। भोलि हुने निर्वाचनका लागि थापाले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्तापछि थापाले नेपाली कांग्रेसका अग्रजदेखि युवा पुस्ता, महिला तथा आम कार्यकर्तालाई साथमा लिएर पार्टीलाई नयाँ ऊर्जा र दिशाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापाले देशका युवाको भविष्य नेपालमै सुनिश्चित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। रोजगारी र अवसरको अभावमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको भन्दै उनले युवाले विदेश गएर आफ्नो श्रम बेच्नुपर्ने बाध्यता अन्त्य गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले नेपाली कांग्रेसलाई थप सशक्त, जनमुखी र भविष्यउन्मुख पार्टीका रूपमा अघि बढाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।
‘भोलिको मतले नेपाली कांग्रेसले इतिहास बदल्नेछ, इतिहास बनाउनेछ र इतिहास रच्नेछ भन्ने विश्वास लिएको छु,’ थापाले भने।
सभापति पदका लागि थापाले आम कांग्रेस कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको मत र विश्वासको अपेक्षा गरेका छन्।

