• TOKHA LIVE

      TOKHA LIVE

    • ८ भाद्र २०८३, सोमबार ०६:१३

    टोखामा अन्तरविद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

    काठमाडौं भदौ ७ । बालबालिकाको लेखाइमा रहेको सिर्जनशीलता, सौन्दर्य र प्रतिभालाई उजागर गर्ने उद्देश्यले काठमाडौंको टोखामा अन्तरविद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।
    ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा भदौ ६ गते शनिबार टोखास्थित साउथवेस्टर्न स्टेट कलेजमा प्रतियोगिता आयोजना गरिएको हो। ‘राम्रो हस्तलेखन, उज्यालो भविष्य’ भन्ने भावसहित आयोजित प्रतियोगितामा १४ विद्यालयका ८० जना विद्यार्थी सहभागी भएका थिए।
    कार्यक्रमको सभापतित्व कृष्णबहादुर नेपालीले गरेका थिए। कार्यक्रममा रमेश शर्मा, सुजन मगर र नारायणप्रसाद पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रतियोगिताको निर्णायकमा सजना महर्जन र मनरा प्रजापति रहेका थिए।
    प्रतियोगितामा विद्यार्थीको लेखाइको सौन्दर्य, स्पष्टता, अक्षरको बनोट, सफाइ, अनुशासन र प्रस्तुतिकरण लगायतका पक्षलाई मूल्याङ्कनको आधार बनाइएको थियो।
    आयोजकका अनुसार हस्तलेखन अक्षर लेख्ने कला मात्र नभई विद्यार्थीको अनुशासन, धैर्य, एकाग्रता, सिर्जनशीलता र व्यक्तित्वसमेत प्रतिबिम्बित गर्ने माध्यम हो। डिजिटल प्रविधिको प्रयोग बढ्दै गए पनि सुन्दर र व्यवस्थित हस्तलेखनको महत्व कायम रहेकाले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो।
    प्रतियोगिताले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्नो प्रतिभा प्रस्तुत गर्ने आत्मविश्वास बढाउन सहयोग पुगेको आयोजकको विश्वास छ। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको जनाइएको छ।
    ज्ञान सागर ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आगामी दिनमा पनि बालबालिकाको प्रतिभा पहिचान र विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै