काठमाडौं । हरितालिका तिजको अवसरमा नेकपा (एमाले) अखिल नेपाल महिला संघ, टोखा नगर कमिटीले भोलि विशेष तिज कार्यक्रम आयोजना गर्ने भएको छ। ‘आऊँ दिदीबहिनी हो ! तिजको रौनकमा रमाऔँ, संस्कृति जोगाऔँ, एकता बढाऔँ’ भन्ने भावनासहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम भोलि २०८३ भदौ ६ गते शनिबार टोखा नगरपालिका–३ स्थित भूतखेल चौरमा आयोजना हुनेछ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा तिजका मौलिक गीतसंगीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिसँगै दर खाने कार्यक्रमसमेत आयोजना गरिनेछ। नेपाली समाजमा पुस्तौँदेखि मनाइँदै आएको तिजको मौलिकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै दिदीबहिनीलाई एउटै थलोमा भेला गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।
आयोजकका अनुसार तिजलाई केवल मनोरञ्जन र रमाइलोको पर्वका रूपमा मात्र नभई महिला दिदीबहिनीबीच आत्मीयता, भेटघाट, सद्भाव र सुख–दुःख साटासाट गर्ने अवसरका रूपमा विकास गर्न कार्यक्रमले सहयोग पुर्याउनेछ।
कार्यक्रम अखिल नेपाल महिला संघ, टोखा नगर कमिटीको व्यवस्थापनमा हुने बताइएको छ। आयोजकले कार्यक्रममा सहभागी भएर तिजको सांस्कृतिक रौनकमा रमाउन तथा मौलिक संस्कृति संरक्षणको अभियानमा साथ दिन सबै दिदीबहिनीलाई आग्रह गरेको छ।

