काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
स्वतन्त्र आमा नेपालको आयोजनामा भएको प्रदर्शनमा महिला तथा विभिन्न क्षेत्रका नागरिक सहभागी भएका थिए। सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष र प्रभावकारी छानबिन गरी घटनामा संलग्न दोषीलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिन माग गरेका छन्।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनामा राज्यले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताएका थिए। उनीहरूले पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी कानुनी प्रक्रिया अघि बढाउन र दोषीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरे।
माइतीघर मण्डलामा सहभागी महिलाहरूले विभिन्न नारासहित प्रदर्शन गर्दै बालिकाको न्यायका लागि आवाज उठाएका थिए। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकाय थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
प्रदर्शनमा सहभागीहरूले यस्ता घटनाको निष्पक्ष अनुसन्धानसँगै बालबालिकामाथि हुने हिंसा रोक्न प्रभावकारी सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत गरेका छन्।
गरिमा चौधरीको घटनालाई लिएर न्यायको माग गर्दै गरिएको प्रदर्शनले बालबालिकामाथि हुने हिंसा र यौन अपराधविरुद्ध सामाजिक रूपमा थप दबाब सिर्जना गरेको प्रदर्शनकारीहरूको भनाइ छ।

