• TOKHA LIVE

      TOKHA LIVE

    • ३ भाद्र २०८३, बुधबार १९:२४

    नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको अध्यक्षमा विराजकाजी राजोपाध्याय

    काठमाडौं भाद्र ३ । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनबाट विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

    सम्मेलनबाट अध्यक्षमा काठमाडौंका विराजकाजी राजोपाध्याय, उपाध्यक्षमा चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम बज्राचार्य, सचिवमा ललितपुरका सनीराज शाक्य, सहसचिवमा काभ्रेका विश्वनाथ ताम्राकार र काठमाडौंकी विष्णुदेवी महर्जन तथा कोषाध्यक्षमा भक्तपुरका श्यामकुमार था चयन भएका छन्।

    त्यस्तै सदस्यहरूमा काठमाडौंका मदनराम कर्माचार्य र सुरज मानन्धर, ललितपुरका राजु महर्जन ‘जुजु’, भक्तपुरका दीपक कायस्थ श्रेष्ठ तथा ज्ञानदेव श्रेष्ठ र पुनमाया कर्माचार्य (श्रेष्ठ) (काभ्रे) रहेका छन्।

    कार्यसमिति चयनअघि आयोजित उद्घाटन सत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभागका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले सभापतित्व गरेका थिए। कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    प्रमुख अतिथि श्रेष्ठले दबूको विधान तथा नेपालको संविधानअनुसार संगठनको संरचना निर्माण गरिएको जानकारी दिए। उनले दबूको पाँचौं महाधिवेशनका क्रममा विभिन्न जिल्लाको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशलाई पहिलो प्रदेश अधिवेशनका रूपमा गठन गरिएको बताए।

    उनका अनुसार स्थानीय, जिल्ला, प्रदेश र संघीय गरी संगठनको चार तहको संरचना निर्माण गरिएको छ। साथै विदेशमा रहेका नेवाः पत्रकारलाई समेत संगठनमा आबद्ध गराउँदै वैदेशिक शाखाहरू गठन गरिएको उनले जानकारी दिए।

    श्रेष्ठले आफ्नो कार्यकालमा पहिलो र दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुनुका साथै तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको संयोजनसमेत भएको बताए। उनले नवनिर्वाचित बागमती प्रदेश कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    कार्यक्रमका विशेष अतिथि तथा निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले नेवाः पत्रकारहरूको जिम्मेवारी पत्रकारितामा मात्र सीमित नरहेको बताए। भाषा, साहित्य र संस्कृति संरक्षणमा समेत नेवाः पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेवार समुदायका सदस्यहरूबीच भेट हुँदा सकेसम्म नेपालभाषामै संवाद गर्न आग्रह गरे। नेपालभाषामा संवाद गर्न नसके पनि कम्तीमा नेपालभाषामा अभिवादन गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा कोषाध्यक्ष बाबुकाजी श्रेष्ठले पनि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे।

    दबूका महासचिव केके मानन्धरले बागमती प्रदेशको पहिलो अधिवेशन सम्पन्न हुनु खुसीसँगै ऐतिहासिक क्षण भएको बताए। उनले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै स्थानीय, जिल्ला, प्रदेश र संघीय गरी चार तहको संगठनात्मक संरचनामार्फत विश्वभर रहेका नेवाः पत्रकारलाई एउटै संस्थागत फोरममा आबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिए।

    काठमाडौं जिल्ला अध्यक्ष रत्न काजी महर्जनले विभिन्न जिल्लाबाट सहभागी प्रदेश सभासद्लाई नयाँ नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्दै प्रदेश समिति गठनपछि जिल्ला र केन्द्रबीच प्रभावकारी समन्वय र सहकार्यको पुल बन्ने विश्वास व्यक्त गरे।

    त्यस्तै काभ्रे जिल्ला अध्यक्ष शम्भुलाल श्रेष्ठले नयाँ कार्यसमितिलाई शुभकामना दिए। धादिङ जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठले जिल्ला कमिटी गठनपछि त्यसका गतिविधि र केन्द्रसँगको समन्वयमा केही कमी देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै प्रभावकारी समन्वय र सहकार्य अघि बढाउन आग्रह गरे।

    नवनिर्वाचित बागमती प्रदेश कार्यसमितिले नेवाः पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेपालभाषा पत्रकारिताको प्रवर्द्धन तथा नेवार समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै