काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयका चार वटा घटक संगठनले नगरपालिकाले लागू गरेको आइतबारको साप्ताहिक बिदा नमान्ने घोषणा गरेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विद्यालय सञ्चालनसम्बन्धी निर्णय पुनर्विचार गर्न नगरपालिकासँग आग्रह गरेका छन्।
उनीहरूले विद्यालय सञ्चालन र व्यवस्थापनको संवैधानिक अधिकार तथा स्थानीय तहको जिम्मेवारीलाई ध्यानमा राख्दै आवश्यक छलफलपछि मात्र निर्णय लिनुपर्ने बताएका छन्। संयुक्त विज्ञप्तिमा विद्यालयमा कम्तीमा २२० दिन पठनपाठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आइतबार बिदा दिँदा पाठ्यक्रममा समेटिएका विषयवस्तु पूरा गर्न कठिनाइ हुने जनाइएको छ। त्यसका लागि अन्य दिन अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने र अभिभावक तथा विद्यार्थीमा थप भार पर्ने उनीहरूको भनाइ छ।
त्यस्तै, दैनिक ज्याला–मजदुरी तथा व्यवसायमा संलग्न अभिभावकलाई आइतबार बिदा हुँदा आफ्ना बालबालिकाको रेखदेख गर्न कठिनाइ हुने, विद्यालय तहका बालबालिकामा बढ्दो मोबाइल प्रयोगले अध्ययनमा नकारात्मक असर पार्न सक्ने तथा बिदाको समयमा विद्यार्थी उत्पादनभन्दा अनुत्पादक गतिविधिमा संलग्न हुने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय सञ्चालक तथा अभिभावकले आइतबार विद्यालय बन्द हुँदा बालबालिकाको रेखदेख र सम्भावित दुर्घटना तथा कुलतमा पर्न सक्ने जोखिमसमेत रहेको भन्दै विद्यालय सञ्चालन उपयुक्त हुने धारणा लिखित तथा मौखिक रूपमा प्रस्तुत गरेको चार संगठनले बताएका छन्।
संयुक्त विज्ञप्तिमा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर पर्न सक्ने विषयमा सरोकारवालासँग पर्याप्त छलफल गरी निर्णय लिनुपर्नेमा जोड दिइएको छ। स्थानीय सरकार र सरोकारवालाबीचको छलफलबाट आएको निर्णयलाई सबै पक्षले स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ। प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले तारकेश्वर नगरपालिकाले यस विषयमा केन्द्रित भएर थप छलफल गरी जबर्जस्ती विद्यालय बन्द गराउनेभन्दा उपयुक्त समय र प्रक्रियाबाट निर्णय कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गरेका छन्। चारै संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले विद्यालय सञ्चालनसम्बन्धी निर्णयमा सम्बन्धित सबै सरोकारवालाको सहभागिता र व्यवहारिक पक्षलाई समेत ध्यान दिन माग गरेका छन्।


