नुवाकोट, ३ भदौ । लगातारको वर्षाका कारण टोखा–छहरे सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो (गेग्रान) खस्ने जोखिम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म दैनिक सात घण्टा सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
विशेषगरी शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला क्षेत्रमा वर्षासँगै माथिबाट लेदो, ढुङ्गा तथा गेग्रान खस्ने जोखिम उच्च रहेकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि रातिको समयमा सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभएको छ।
प्रशासनले रातिको समयमा सडक बन्द गरे पनि एम्बुलेन्स, दमकललगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने आवश्यकताअनुसार सुरक्षाकर्मीको समन्वयमा सञ्चालन गर्न दिइने जनाएको छ।
टोखा–छहरे सडक काठमाडौँबाट नुवाकोट हुँदै धादिङ तथा चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको छ। दैनिक रूपमा ठूलो संख्यामा यात्रु तथा मालवाहक सवारीसाधन सञ्चालन हुने यो सडकखण्डमा वर्षायाममा पहिरो र लेदो खस्ने समस्या दोहोरिँदै आएको छ।
वर्षाका कारण सडकमा अचानक पहिरो तथा ढुङ्गा खस्दा मानवीय तथा भौतिक क्षतिको जोखिमसमेत बढ्ने भएकाले प्रशासनले रातिको समयमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेषगरी रातिको समयमा सडक यात्रा नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई अपिल गर्नुभएको छ।
प्रशासनले मौसम तथा सडकको अवस्थाअनुसार आगामी दिनमा सवारी आवागमनसम्बन्धी निर्णयमा आवश्यक हेरफेर गर्न सक्ने जनाएको छ।

