• TOKHA LIVE

      TOKHA LIVE

    • १० असार २०८३, बुधबार २१:३३

    सर्वसम्मतिमा टुंगियो चण्डेश्वरी मन्दिर–मदन आश्रित विद्यालय विवाद, स्थानान्तरण प्रक्रियामा सहमति

     

    टोखा काठमाडौँ, १० असार। लामो समयदेखि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच चासोको विषय बनेको चण्डेश्वरी मन्दिर क्षेत्र तथा मदन आश्रित आधारभूत माध्यमिक विद्यालयसँग सम्बन्धित विवाद समाधानको दिशातर्फ अघि बढेको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चण्डेश्वरी मन्दिर क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनका विषयमा आज आयोजित बृहत् छलफलबाट विद्यालय स्थानान्तरण लगायतका महत्वपूर्ण विषयमा सर्वसम्मति जुटेको हो।

     

    छलफलमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिथाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानिलकण्ठ ४ का वडा अध्यक्ष श्रीराम केसी, टोखा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, पूर्व जनप्रतिनिधिहरू, विभिन्न गुठी तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका पदाधिकारी, चण्डेश्वरी युवा क्लब, मन्दिरका पुजारी, मदन आश्रित आधारभूत माध्यमिक विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा प्रहरी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

     

    छलफलका क्रममा मदन आश्रित आधारभूत माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने विषयमा सर्वसम्मति जुटेको छ। वडा अध्यक्ष श्रीराम केसीले विद्यालय स्थानान्तरणका लागि आवश्यक जग्गा पहिचान गर्न कार्यदल गठन गरी एक साताभित्र प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

    त्यसैगरी, विद्यालय परिसरमा निर्माण गर्न लागिएको ट्रस्टसम्बन्धी कार्य हाललाई रोक्ने र थप निर्णय नआएसम्म अगाडि नबढाउने सुझाव बुढानिलकण्ठ नगरप्रमुख तथा वडा अध्यक्षबाट आएको बताइएको छ।

     

    विद्यालयको सुरक्षालाई ध्यानमा राख्दै भत्किएको मन्दिर परिसरको कम्पाउण्ड पर्खाल तत्काल मर्मत तथा पुनर्निर्माण गर्ने जिम्मेवारी टोखा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले लिने सहमति समेत भएको छ।

     

    कार्यक्रमपछि समितिका अध्यक्ष गगनकुमार श्रेष्ठले चण्डेश्वरी क्षेत्रको विकास, संरक्षण र दीर्घकालीन समाधानका लागि सहयोग, सद्भाव र सक्रिय सहभागिता जनाउने सम्पूर्ण जनप्रतिनिधि, सरोकारवाला निकाय, सामाजिक अगुवा तथा स्थानीयवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे।

     

    श्रेष्ठले ऐतिहासिक, धार्मिक र शैक्षिक महत्व बोकेको यस क्षेत्रको हितका लागि सबै पक्ष एकै ठाउँमा उभिएर समाधान खोज्नु सकारात्मक, जिम्मेवार र स्वागतयोग्य कदम भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यको यही भावना कायम रहने विश्वास व्यक्त गरे।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै