संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जानकारी दिनुभयो। यससँगै लामो समयदेखि चर्चामा रहेको यो आयोजना तेस्रो पटक बजेटमा समावेश भएको छ।
सुरुङमार्ग निर्माण भए काठमाडौंबाट नुवाकोटको छहरे हुँदै रसुवा–केरुङ नाकासम्म पुग्ने दूरी छोटिने, यात्रा समय घट्ने तथा उत्तरी नाकासँगको व्यापारिक तथा रणनीतिक सम्पर्क थप सुदृढ हुने अपेक्षा गरिएको छ। चीनसँगको व्यापार विस्तार तथा वैकल्पिक अन्तरदेशीय यातायात सञ्जाल विकासका दृष्टिले पनि यस आयोजनालाई महत्वपूर्ण मानिएको छ।
यद्यपि, विगतका बजेट र नीति तथा कार्यक्रमहरूमा समेत समावेश भए पनि आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन। सम्भाव्यता अध्ययनको घोषणा पटक–पटक दोहोरिए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा स्थानीयवासी तथा सरोकारवालाहरू निराश बन्दै आएका छन्।
टोखा, नुवाकोट र रसुवा क्षेत्रका स्थानीयले यस परियोजनालाई केवल अध्ययनमै सीमित नराखी पर्याप्त बजेट विनियोजनसहित निर्माण प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरूको भनाइमा सुरुङमार्ग निर्माणले काठमाडौं केरुङ मार्गलाई छोटो, सुरक्षित र प्रभावकारी बनाउने मात्र होइन, समग्र क्षेत्रको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
अबको मुख्य प्रश्न भनेको सरकारले घोषणा गरेको अध्ययनलाई छिटो सम्पन्न गरी आयोजना निर्माणतर्फ अघि बढाउँछ कि विगतझैँ बजेटको घोषणामै सीमित रहन्छ भन्ने हो।

