• TOKHA LIVE

    • ७ बैशाख २०८३, सोमबार १२:३२

    आईपीयू महासभामा नेपालको ऐतिहासिक उपलब्धि: डा. अन्जान शाक्य सह-प्रतिवेदक चयन, सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्ने

     

    काठमाडाैं, ७ वैशाख । टर्कीको इस्तानबुलमा सम्पन्न अन्तर-संसदीय संघको १५२औँ महासभामा नेपालले ठूलो कूटनीतिक सफलता हासिल गरेको छ। महासभामा नेपालको तर्फबाट सहभागी राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई आगामी महासभाका लागि ‘सह-प्रतिवेदक’ (Co-rapporteur) मा चयन गरिएको छ भने नेपालले अघि सारेको वातावरणीय संरक्षणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। “आशा अभिवृद्धि गर्दै, शान्ति सुनिश्चित र भावी पुस्ताका लागि न्याय सुनिश्चित गर्दै” भन्ने मूल नाराका साथ अप्रिल १५ देखि १९ सम्म आयोजना गरिएको यस महासभामा विश्वभरका सांसदहरूको सहभागिता रहेको थियो। नेपाली संसदीय इतिहासमै पहिलो पटक आईपीयूको ‘दिगो विकाससम्बन्धी स्थायी समिति’को सदस्यमा निर्वाचित हुनुभएकी डा. शाक्यले वैशाख ६ गते मुख्य छलफलका क्रममा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले “न्यायसंगत र दिगो विश्व अर्थतन्त्र निर्माण: संरक्षणवादसँग लड्न, भन्सार दर घटाउन र कर्पोरेट कर छलीबाट बच्न संसद्हरूको भूमिका” विषयमा तयार पारिएको मस्यौदा प्रस्तावमाथि प्रकाश पार्नुभएको थियो। अष्ट्रेलिया, चिली र जाम्बियाका सह-प्रतिवेदकहरूसँग मिलेर तयार पारिएको उक्त प्रतिवेदन २२ सदस्य राष्ट्रका १४० वटा संशोधन प्रस्तावहरू समेट्दै सर्वसम्मतिले अनुमोदन भएको छ। प्रतिवेदनले नियममा आधारित बहुपक्षीय व्यापार प्रणाली, राष्ट्रिय सार्वभौमिकताको सम्मान र बहुराष्ट्रिय कम्पनीहरूको कर छली रोक्न अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएको छ। महासभामा डा. शाक्यले “पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्व” सम्बन्धी विशेष प्रस्ताव पेस गर्नुभएको थियो। नेपालको यो महत्वपूर्ण प्रस्तावना महासभाले पारित गरेको छ र यसलाई अर्को महासभामा विस्तृत रूपमा ल्याइनेछ। उक्त महत्वपूर्ण प्रस्तावको मस्यौदा तयार गर्ने र नेतृत्व गर्ने जिम्मेवारीसहित आईपीयूले डा. शाक्यलाई ‘सह-प्रतिवेदक’ (Co-rapporteur) मा चयन गरेको हाे। यो चयनसँगै नेपालले जलवायु परिवर्तन र पर्यावरण संरक्षणको विश्वव्यापी बहसको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ। समितिले आगामी महासभाका लागि कृत्रिम बुद्धिमत्ता (AI) ले रोजगारीमा पार्ने प्रभावबारे प्यानल छलफल र टर्कीमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (COP 31) को तयारीसम्बन्धी सत्रहरू समावेश गरिएको कार्ययोजना समेत अनुमोदन गरेको छ। प्रस्तुतिको अन्त्यमा डा. शाक्यले मस्यौदा प्रक्रियामा सक्रिय सहभागिता जनाउने अष्ट्रेलिया, चिली र जाम्बियाका प्रतिनिधिहरूसहित सम्पूर्ण सदस्यहरूको टोली भावना र व्यावसायिक दक्षताको प्रशंसा गर्नुभएको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै