काठमाडौँ, २३ चैतः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी जेठ १५ गते प्रस्तुत गरिने बजेटले मुलुकको आर्थिक संरचनामा रूपान्तरण ल्याउने गरी प्राथमिकता तय गरिने बताउनुभएको हो।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का प्रतिनिधिसँग सिंहदरबारमा भएको छलफलमा उहाँले सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने रहेको स्पष्ट पार्नुभयो। बजेटमार्फत सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनमा सुधार ल्याउने विषयलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ थियो।
मन्त्री वाग्लेले गोरखकाली लगायत केही संस्थानलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।
उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई सरकारले अझ सशक्त बनाउँदै लगेको उल्लेख गर्दै नियमविपरीत आर्थिक गतिविधिमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै नेपाललाई ‘ग्रे लिस्ट’ बाट हटाउन पनि यस्तो अनुसन्धान आवश्यक भएको उहाँले बताउनुभयो।
मध्यपूर्वमा बढ्दो द्वन्द्वप्रति सरकार सजग रहेको बताउँदै उहाँले समस्या परेका नेपाली नागरिकलाई प्राथमिकताका साथ उद्धार गरिने जानकारी दिनुभयो।
कार्यक्रममा नाफिज अध्यक्ष मेनुका कार्की ले ठूलो आकारको बजेट ल्याउने तर कार्यान्वयनमा समस्या हुने प्रवृत्ति सुधार गर्दै प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो।
यसपटकको बजेटले आर्थिक सुधार, सुशासन र प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

