काठमाडौँ, २३ चैतः सरकारको शासकीय सुधार योजनाअनुसार केन्द्रले राजधानी बाहिरका विभिन्न जिल्लामा टोली खटाएर छड्के अनुगमन सुरु गरेको हो। आजदेखि लागू गरिएको नयाँ कार्यालय समय (बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म) प्रभावकारी रूपमा कार्यान्वयन भए/नभएको मूल्याङ्कन गर्न यो कदम चालिएको हो।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्ट का अनुसार, टोलीहरूले कर्मचारीहरू तोकिएको समयमा कार्यालयमा उपस्थित भए/नभएको, आफ्नो कार्यकक्षमै बसेर काम गरे/नगरेको तथा सेवाग्राहीका काम समयमै सम्पन्न भए/नभएको जस्ता विषयमा निगरानी गरिरहेका छन्। साथै, फाइल अड्किएको वा ढिलासुस्ती भएको अवस्थाबारे ‘फाइल ट्र्याकिङ’ प्रणालीमार्फत पनि अनुगमन भइरहेको छ।
पछिल्लो समय बढ्दै गएका गुनासा र उजुरीलाई सम्बोधन गर्न केन्द्र थप सक्रिय बनेको छ। अनुगमनका क्रममा कुनै प्रकारको भ्रष्टाचार वा अनियमितता भेटिएमा तत्काल सुधारका लागि निर्देशन दिइने र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा सिफारिस गरिने बताइएको छ।
केन्द्रले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन आफ्ना स्रोत र जनशक्ति परिचालन गर्दै आएको जनाएको छ। दैनिक रूपमा विभिन्न मन्त्रालय, विभाग तथा सार्वजनिक निकायहरूमा अनुगमनलाई तीव्र बनाइएको छ, जसले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।