• Sanu Raj Dangol

    • १० चैत्र २०८२, मंगलवार २०:१९

    लुम्बिनीमा दुई दिने ध्यान तथा ज्ञान कार्यक्रम सम्पन्न

    नविना श्रेष्ठ

    लुम्बिनी चैत १०, २०८२। लुम्बिनीमा दुई दिनसम्म सञ्चालन गरिएको ध्यान तथा ज्ञानमूलक कार्यक्रम सम्पन्न भएको छ। दुई रात तीन दिनको भ्रमणसँगै आयोजना गरिएको उक्त कार्यक्रममा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म ध्यान अभ्यास तथा ज्ञान आदान–प्रदान गरिएको थियो।
    कार्यक्रममा थाइल्याण्डबाट आएका भिक्षु (भन्ते) तथा नेपालका विभिन्न बिहारबाट सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ध्यान केन्द्रमा थाइल्याण्डका अनुभवी भन्तेहरूले ध्यानको महत्वबारे प्रशिक्षण दिएका थिए भने ७३ वर्षीया एक सहभागी (आन्टी)ले आफ्ना अनुभवमार्फत जीवन, ध्यान र आत्मशान्तिबारे गहिरा विचार प्रस्तुत गर्नुभयो।
    उहाँले आफ्नो जीवनकथा सुनाउँदै विगतमा फिल्म क्षेत्रमा सक्रिय भई सिङ्गापुरलगायत विभिन्न देशमा काम गरेको अनुभव साझा गर्नुभयो। पारिवारिक जीवनका कठिनाइहरू उल्लेख गर्दै उहाँले छोरीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिनुभयो। चिकित्सकीय त्रुटिका कारण अपाङ्ग भएकी छोरीको दीर्घ हेरचाह र नियमित ध्यान अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाइ थियो।
    कार्यक्रमका वक्ताहरूले ध्यानलाई जीवनको अत्यावश्यक अभ्यासका रूपमा प्रस्तुत गर्दै मानसिक शान्ति, आत्मबोध र सहनशीलता विकासमा यसको महत्वपूर्ण भूमिका हुने बताएका थिए। ध्यानमार्फत मानिसले एक्लोपनलाई पार गर्दै जीवनका उतारचढावलाई सहज रूपमा स्वीकार गर्न सक्ने धारणा व्यक्त गरियो।
    यस अवसरमा पूर्वजन्म, कर्म र यसको प्रभावबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूलाई वर्तमान जीवनमा सत्कर्म गर्न, पुण्य आर्जन गर्न र ध्यानमार्फत आत्मज्ञान प्राप्त गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै