• TOKHA LIVE

    • ३ चैत्र २०८२, मंगलवार २१:१९

    पाहाँचह्रे पर्वमा वत्सलेश्वरी जात्रा: शान्तिको कामनासहित मूलभट्टद्वारा विशेष पूजा

     

     

    काठमाडौँ, ३ चैत : पाहाँचह्रे पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसरस्थित वत्सलेश्वरी मन्दिर मा मूलभट्टले विशेष पूजा आराधना गरेका छन्। मुलुकमा शान्ति, समृद्धि र रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने कामनासहित प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीका दिन यो पूजा गर्ने परम्परा रहिआएको छ।
    पशुपति क्षेत्र विकास कोष का अनुसार यस पूजामा पशुपतिनाथका चारै जना भट्टको सहभागिता रहने गर्दछ। यस वर्षको वत्सलेश्वरी तथा बज्रेश्वरी जात्रा भने चैत्र कृष्ण अष्टमीदेखि सुरु भई विभिन्न विधि र परम्परासहित मनाइँदै आएको छ।
    आर्यघाट जाने मार्गस्थित वत्सलेश्वरी मन्दिरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका विभिन्न टोलमा घुमाउने परम्परा रहेको छ। लिच्छविकालदेखि चल्दै आएको परम्पराअनुसार भट्टहरूले नै उपत्यकाका देवी–देवता तथा स्थानीयलाई जात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ।
    वत्सलेश्वरीलाई नक्साल भगवतीकी दिदीका रूपमा पूजा गरिन्छ। किंवदन्तीअनुसार नक्साल भगवतीको रथ पशुपतिमा लगी मूलढोकामा तीनपटक ठोक्काएर भगवान् शिवको ध्यानाकर्षण गराइन्छ। त्यसपछि वत्सलेश्वरीको रथ चावहिलस्थित चन्द्रविनायकसम्म लगिने र विभिन्न स्थानमा परिक्रमा गराइने परम्परा छ।
    तीन दिनसम्म विशेष रूपमा मनाइने यो जात्रा चैत्र शुक्ल द्वितीयामा सिन्दुर जात्रासहित समापन गरिन्छ। जनविश्वासअनुसार यो जात्रा मनाउँदा रोगव्याधि हट्ने, सुख–शान्ति कायम हुने भएकाले बालबालिकादेखि वृद्धसम्म उत्साहपूर्वक सहभागी हुने गरेका छन्।
    यस वर्षको जात्राका लागि पशुपति क्षेत्रलाई आकर्षक रूपमा सजाइएको छ भने स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै