काठमाडौं ३ चैत।काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य सुरु भएको छ।
सोमबार सम्पन्न सम्झौतामा महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्मा सहभागी भएका थिए। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो।
कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गर्दै नियमित परीक्षण नै यसको रोकथामको प्रभावकारी उपाय भएको बताउनुभयो। “समयमै जाँच गराउँदा धेरै जोखिमबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो।
अस्पतालका निर्देशक प्रा. डा. शर्माले पनि लक्षण नदेखिए पनि परीक्षण गराउने बानी बसाल्न आवश्यक रहेकोमा जोड दिनुभयो। “लक्षण नदेखिएकै कारण परीक्षण नगर्ने प्रवृत्तिले रोग ढिलो पत्ता लाग्ने र अवस्था जटिल बन्ने गरेको छ,” उहाँले बताउनुभयो।
महानगरका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुट भएका र पोजेटिभ देखिएका महिलालाई लक्षित गरी सेवा प्रदान गरिनेछ। चैत १६ गतेदेखि सुरु हुने यो कार्यक्रमअन्तर्गत दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गरिने योजना छ।
नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेकोले यस्तो अभियानले प्रारम्भिक पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

