काठमाडौँ, २६ माघः महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ। भक्तजनलाई सहज र सुरक्षित दर्शन सुविधा उपलब्ध गराउने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले विशेष तयारी अघि बढाएको छ।
महाशिवरात्रि २०८२ का लागि १७१ सदस्यीय मूल समारोह समिति गठन भएको छ। समितिले व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारसमेत समेटेर पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।
देश तथा छिमेकी भारतका विभिन्न भू–भागबाट साधु–सन्तहरूको आगमन तीव्र भईसकेको छ। विभिन्न अखडा र सम्प्रदायका साधु–सन्तहरूले आफ्ना धुनी स्थापना गरी ध्यान, तपस्या र साधना सुरु गरेका छन्।
महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ र यस अवसरमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजनको उपस्थितिको अपेक्षा गरिएको छ। पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार र सम्बन्धित निकायहरूले पर्वको व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न सक्रिय तयारी गरिरहेका छन्।

