काठमाडौँ, २४ माघ / पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण सर्वसाधारण हैरान हुन थालेपछि ट्राफिक प्रहरीले कडाइ थालेको छ। यही क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाइरहेका आठ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल फेला परेका हुन्। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार स्थानीय बासिन्दाबाट लगातार गुनासो आएपछि निगरानी बढाइएको थियो।
“तारकेश्वर क्षेत्रमा ठूलो आवाज निकाल्ने मोटरसाइकल चलाइने गुनासोपछि चेकजाँच तीव्र बनाइएको हो,” उहाँले भन्नुभयो, “सोही क्रममा दर्ता नभई सञ्चालन भइरहेको एक आइटी ग्यारेजमा जाँच गर्दा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।”
प्रहरीका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप लगायतका संरचनामा अवैध रूपमा परिवर्तन गरिएको थियो, जसले अत्यधिक ध्वनि उत्पन्न गरी वातावरणीय प्रदूषण बढाउनुका साथै सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पारेको थियो।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चर्को आवाज मानव स्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्ने बताउनुभयो। “अत्यधिक ध्वनिले बालबालिका, वृद्धवृद्धा, बिरामी र विद्यार्थीहरू बढी प्रभावित हुन्छन्,” उहाँले भन्नुभयो, “त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै चालकलाई आग्रह गर्दछौँ।”
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ। हाल ती सवारीसाधन थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएका छन्।
ट्राफिक प्रहरीले कानुनले तोकेको मापदण्डअनुसार मात्र सवारीसाधन सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ।

