• TOKHA LIVE

    • २५ माघ २०८२, शनिबार १०:३३

    निर्वाचन मतदान मात्र होइन, जनताको सार्वभौमसत्ताको प्रयोग होः आयुक्त डा तुलाधर

    काठमाडौँ, २४ माघ / निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासयोग्य हुन आवश्यक रहेको बताउनुभएको छ।
    निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले स्वच्छ र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न पर्यवेक्षणको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
    आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने प्रमुख माध्यम हो।”
    उहाँले आम मतदाताको विश्वास कायम राख्न, कानुनी व्यवस्था तथा आचारसंहिताको पालना सुनिश्चित गर्न र निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
    निर्वाचन पर्यवेक्षण कार्यमा संलग्न हुँदा प्रचलित निर्वाचन कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।
    उहाँले पर्यवेक्षणका क्रममा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक हुने उल्लेख गर्दै व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्नुभन्दा तथ्यमा आधारित अवलोकन र मूल्याङ्कनमा केन्द्रित हुन आग्रह गर्नुभयो।
    “पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने कुनै पनि गतिविधि गर्न पाइँदैन,” उहाँले भन्नुभयो, “कुनै पनि किसिमको पक्षपातपूर्ण व्यवहार नगरी प्रचलित कानुन र आचारसंहिताको उल्लङ्घन हुन नदिन सचेत रहनुपर्छ।”
    आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबै पक्षले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै