काठमाडौँ, माघ २२ / काठमाडौँको हात्तिगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलले विद्यालय तहमा कला र साहित्यको प्रवर्द्धन गर्दै ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण बिहीबारदेखि सुरु गरेको छ। दुई दिनसम्म चल्ने महोत्सवले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले दीप प्रज्वलन गरी कार्यक्रम सुरु गर्नुभयो। प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवस थिए।

उद्घाटन समारोहमा बोल्दै तुलसी दिवसले भने, “कला र साहित्यले मानव जीवनलाई संवेदनशील र सृजनशील बनाउँछ। यस्ता महोत्सवले नयाँ पुस्तालाई आफ्नै मौलिक सिर्जनासँग जोड्न मद्दत गर्छ। विद्यालयले सुरू गरेको सिर्जनात्मक अभियानलाई म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन साथ दिनेछु।”
उपमेयर अनिता लामाले पनि विद्यालयको प्रशंसा गर्दै भन्नुभयो, “इम्पेरियलले विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरेको लगानीले भविष्यमा सक्षम र जिम्मेवार जनशक्ति तयार पार्ने विश्वास जगाएको छ।”
विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीका अनुसार, विगत तीन वर्षदेखि कला र साहित्यको संरक्षण र प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना हुँदै आएको छ। यसले विद्यार्थीलाई सिर्जनशील सोच र अभिव्यक्तिको अवसर दिन्छ।
महोत्सवको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूद्वारा तयार पारिएका तीन साहित्यिक कृतिहरू नेपाली कविता संकलन ‘शब्द बगैंचा’, नेपाली कथा संकलन ‘उडान कथा’ र अंग्रेजी कथासंकलन ‘माई पेन माई वर्ल्ड’– को औपचारिक विमोचन गरिएको थियो।
पहिलो दिन विभिन्न सत्र र एक बृहत् प्यानल छलफल सम्पन्न भएको थियो। ‘साहित्य: पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्त्र’ शीर्षकको प्यानल छलफलमा लेखकहरू नयनराज पाण्डे, केशव दाहाल, बिना थिङ तामाङ र रकुमारी लामाले सहभागिता जनाए। छलफलमा साहित्यले कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा विमर्श भयो।

