काठमाडौँ, माघ ३ ।
तत्कालीन काठमाडौँ नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधन भएको छ। लामो समयदेखि पक्षाघातका कारण घरमै उपचाररत रहनुभएका सिंहको हृदयाघातका कारण हिजो देहावसान भएको हो। उहाँको पार्थिव शरीरलाई आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिएको छ।
वि.सं. २००२ साल श्रावणमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नं. ८ (हाल वडा नं. २२) बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। त्यस समय काठमाडौँ नगर पञ्चायतमा २९ वडा रहेको र वडाबाट निर्वाचित अध्यक्षहरूमध्येबाट प्रधानपञ्च चयन गर्ने व्यवस्था थियो।
वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार यही प्रक्रियाबाट सिंह २०३० सालदेखि दुई वर्षका लागि काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च चयन हुनुभएको थियो। सरल स्वभाव र सार्वजनिक सेवाप्रतिको समर्पणका लागि उहाँलाई धेरैले सम्झने गरेका छन्।
स्व. सिंहका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्। उहाँको निधनले परिवार, आफन्त र काठमाडौँको स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रलाई गहिरो क्षति पुगेको छ।

