• TOKHA LIVE

    • २ माघ २०८२, बिहीबार १२:५६

    भक्तपुरमा ‘सम्यक दान पर्व’ धुमधामका साथ मनाइँदै

    भक्तपुर, १ माघः भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते मनाइँदै आएको यो पर्व सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा आयोजना गरिएको हो। यस वर्ष करिब दुई हजार भिक्षुहरूलाई महादान दिने लक्ष्य राखिएको छ।
    समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार पाँच दीपकङ्र बुद्ध मूर्तिहरूलाई भक्तपुर नगरपालिकास्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा ल्याएर बौद्ध परम्पराअनुसार पूजाआजा गरिन्छ। परम्पराअनुसार मूर्तिहरू स्थानीय थथुवहिमा विराजमान गराइ प्रसाद, चामल र अन्य परिकारहरू भिक्षुहरूलाई दान गरिन्छ।
    समितिका सचिव राजुमान बज्राचार्यका अनुसार जयकीर्ति महाविहार अत्यन्त जीर्ण अवस्थामा रहेको भए पनि नेपाल संवत् ७९४ मा जयरत्न बज्राचार्यको पहलमा यसको जीर्णोद्धार गरी राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरिएको इतिहास छ।
    सम्यक दानको क्रममा परम्परागत रूपमा विहारमा दिक्षित भई गृहस्थ भिक्षुहरू शाक्य र बज्राचार्य बन्दहरूलाई भोजन, अन्न दक्षिणा प्रदान गरिन्छ। यस वर्ष चिनियाकाजी बज्राचार्य परिवारले जयकीर्ति महाविहारमा एक साताअघिदेखि पर्वको लागि आवश्यक पुरी, लड्डु र अन्य सामग्रीहरूको व्यवस्थापन गरिरहेका छन्।
    पर्वको मुख्य क्रमानुसार पहिलो भोजन चतुब्र्रम्ह महाविहार सङ्घका कुलदेवता हेबज नैरात्मालाई दिइन्छ। त्यसपछि क्रमशः पाँच दीपकङ्र बुद्ध मूर्तिहरू—मूल दीपङ्कर, बाहाछे, भौरबही, ययुबही र कुथुबहि—लाई भोजन चढाइन्छ। त्यसपछि सुवर्ण दीपङ्कर, सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरू र सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई दान प्रदान गरिन्छ।
    समितिका अनुसार यस वर्ष सम्यक दानमा सहभागी हुने धर्मावलम्बीहरूको संख्या अघिल्ला वर्षभन्दा बढी हुने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै