काठमाडौं, पौष २९, २०८२ ।
काठमाडौँको प्राचीन सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा रहेको १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चा फेरि बाँच्ने आशा बोकेर पुनर्निर्माणको यात्रामा लागेको छ।
वडा नं. ८ का अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत ले आज विधिवत् जगपूजा गरी फल्चा पुनर्निर्माणको शुभारम्भ गर्नुभयो। नेपाल संवत् ९९५ मा निर्माण भएको यो ऐतिहासिक फल्चा वडाको पहलमा करिब १३ लाख ७० हजार रुपैयाँ लागतमा पुनःनिर्माण हुन लागेको हो।
अध्यक्ष संगतका अनुसार पुनर्निर्माणका क्रममा फल्चाको मौलिक स्वरूप, प्राचीनता र कलात्मकता जस्ताको तस्तै राखिनेछ। उहाँले यो संरचना केवल यात्रु विश्राम गर्ने स्थल मात्र नभई पशुपति क्षेत्रकै महत्वपूर्ण धार्मिक परम्परासँग जोडिएको जीवित इतिहास भएको बताउनुभयो।
विशेषगरी, बच्छलेश्वरी जात्रा सञ्चालनका क्रममा यही फल्चामा गणेश र कुमारीलाई राखी विशेष पूजा गर्ने परम्परा रहँदै आएको थियो। फल्चामा पूजा गरी चढाइएको प्रसाद बालबालिकालाई खुवाउने चलन थियो, जसले बोल्न नसक्ने वा ढिलो बोल्ने बालबालिकाको स्वर खुल्छ भन्ने गहिरो जनविश्वास अझै पनि स्थानीयमा जीवित छ।
यही जनआस्था, सांस्कृतिक कडी र सामाजिक स्मृतिलाई बचाइराख्ने उद्देश्यसहित फल्चा पुनर्निर्माण थालिएको अध्यक्ष संगतले बताउनुभयो।
पुनर्निर्माणपछि ग्वलः क्षेत्रले आफ्नो हराउँदै गएको ऐतिहासिक पहिचान पुनः प्राप्त गर्नेछ। साथै, स्थानीयवासीले पुस्तौंदेखि जोडिएको धार्मिक र सांस्कृतिक सम्पदा फेरि आफ्नै आँखाअगाडि उभिएको अनुभूति गर्नेछन्।
हराउँदै गएको इतिहासलाई फेरि जीवन दिन थालिएको यो पहलले सम्पदा संरक्षणको महत्वलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास गरिएको छ।

