• TOKHA LIVE

    • २८ पुष २०८२, सोमबार १३:३८

    सविता खनालको उपन्यास ‘कायरा’ लोकार्पण तथा परिचर्चा सम्पन्न

    नविना श्रेष्ठ
    काठमाडौं, पुस २७, २०८२
    सर्जक सविता खनालको नवीन उपन्यास ‘कायरा’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम राजधानीको धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको छ।
    समकालीन नेपाली साहित्यमा नयाँ संवेदना, साहस र आत्मसंघर्षका कथालाई उजागर गर्ने उपन्यास कायराले जीवनका सूक्ष्म प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने प्रयास गरेको वक्ताहरूले बताएका छन्। महिला, पुरुष वा अन्य पहिचानभन्दा माथि उठेर मानिसलाई “एक व्यक्ति” का रूपमा हेर्ने दृष्टिकोणले कृतिले गहिरो सामाजिक तथा साहित्यिक बहसको ढोका खोलेको उहाँहरूको भनाइ थियो।

    कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनका घनश्याम खड्काले गर्नुभएको थियो भने एरावती प्रकाशनका संस्थापक अध्यक्ष रामदेव पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा महाकाव्यकार डा. नवराज लम्साल सहभागी हुनुहुन्थ्यो।


    प्रमुख अतिथि पाण्डेले कायरा ले नेपाली साहित्यमा समावेशिता र मानवीय संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यस्ता कृतिहरू अझ धेरै प्रकाशन हुन आवश्यक रहेको धारणा राख्नुभयो।


    कृति विमोचनपछि लेखिका सविता खनालले कायरा लेख्दाको अनुभव साझा गर्दै आजको युवा पुस्ता, विद्यार्थी, शिक्षक, अभिभावक तथा सबै पाठकका लागि यस्ता पुस्तकहरू आवश्यक रहेको बताउनुभयो। जीवनका जटिल अनुभूति र आत्मसंघर्षलाई कलममार्फत प्रस्तुत गर्न आफू प्रेरित भएको उहाँको भनाइ थियो।

     

    कार्यक्रममा साझा प्रकाशनका सदस्य जयन्ता पोखरेल तथा राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले कृतिको समीक्षात्मक परिचर्चा र कृतिकारको परिचय प्रस्तुत गर्नुभएको थियो।

     

    ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युनिशा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    साहित्यिक बहस, भावनात्मक प्रस्तुति र गहिरो संवादसहित सम्पन्न कार्यक्रमले कायरा लाई केवल एउटा उपन्यास मात्र नभई जीवन बुझ्ने संवेदनशील दस्तावेजका रूपमा स्थापित गरेको सहभागीहरूको धारणा थियो।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै