काठमाडौँ, २५ पुस / काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा नगरभित्रका विभिन्न होटल र रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। पछिल्लो समय परम्परागत रैथाने खानाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएकाले यस महोत्सवले स्थानीय खानाको पहिचान र प्रचारमा टेवा पुग्ने उहाँको विश्वास छ।
नगरप्रमुख अधिकारीका अनुसार महोत्सवमा उपत्यकाभित्रका सबै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक खानाका परिकार, बूढानीलकण्ठभित्र सञ्चालित होटल, होमस्टे तथा खाना व्यवसायीका गरी करिब ६० वटा कक्ष राखिएका छन्।

