काठमाडौँ २१ पौष । फस्ट विमेन्स टी–ट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।
क्रिकेट एशोसिएसन फर द ब्लाइन्ड इन इन्डियाको आयोजनामा कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा सम्पन्न उक्त विश्वकपमा सहभागी नेपाली टोलीले ऐतिहासिक उपविजेता स्थान हासिल गरेको थियो। सोही उपलब्धिको कदर गर्दै महानगरपालिकाले आज विशेष कार्यक्रम आयोजना गरी टोलीलाई सम्मान गरेको हो।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले खेलाडीहरूलाई जनही १ लाख रुपैयाँ तथा व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने गरी नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो।
खेलाडीहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्यहरू, कार्यपालिका सदस्यहरूका साथै क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी.ले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतियोगिताका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरपालिकाले निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “क्रिकेट खेलमा खेलाडी मात्र होइन, दर्शकमा पनि उत्तिकै भावना जोडिएको हुन्छ। खेलले सबैलाई एकतामा बाँध्ने भएकाले यसको विकासका लागि हामी नियमित रूपमा काम गर्नेछौँ।”
टोलीकी कप्तान गीता पौडेलले आज प्राप्त सम्मान सरकारका तर्फबाट पाएको पहिलो औपचारिक सम्मान भएको बताउँदै यसको महत्व नगद वा जिन्सी सहयोगभन्दा धेरै गहिरो रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीलाई नियमित अभ्यास गर्ने मैदानको आवश्यकता छ। काठमाडौँ महानगरपालिकाले त्यो पूर्वाधार उपलब्ध गराउनेछ भन्ने विश्वास गरेका छौँ।”
त्यस्तै, टोली नेता पवन घिमिरेले यो कार्यक्रम केवल सम्मान मात्र नभई खेलाडीहरूको पहिचान र हौसलाको प्रतीक भएको उल्लेख गर्नुभयो। “अबको हाम्रो अपेक्षा महानगरपालिकाले पारा स्पोर्ट्स एकेडेमी स्थापना गरोस् भन्ने हो,” उहाँले भन्नुभयो।
उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुनसहित सुस्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल सहभागी हुनुहुन्थ्यो।
टोलीका प्रशिक्षक पुरनसिंह खत्री, सह–प्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सह–व्यवस्थापक भावना के.सी. तथा टोली नेता पवन घिमिरे रहनुभएको छ।

