काठमाडौँ, २० पुसः काठमाडौं महानगरपालिकालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले सिसिटिभी जडानलाई तीव्रता दिएको छ। वडावडामा आवश्यक तथ्याङ्क र दृश्यसहित निगरानी गर्न महानगरले अत्याधुनिक क्यामराहरू जडान गर्दैछ।
कामपा–३० मा वडाका २९ स्थानमा क्यामरा जडान भइसकेको छ र फाइबर इन्टरनेट मार्फत निगरानी कक्षसँग जोडिएको छ। वडा अध्यक्ष दलबहादुर कार्कीका अनुसार, वडा नं २६ मा ७७ वटा क्यामरा पहिले नै सञ्चालनमा छन् भने वडा नं ३२ र ३ को बोलपत्र प्रक्रिया अन्तिम चरणमा छ। वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ।
बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम निर्माणका लागि सम्झौता भइसकेको छ। यस प्रणालीले अल्ट्राएचडी (फोरके) क्वालिटीमा दृश्य र आवाज दुवै प्राप्त गराउनेछ। कुनै पनि घटना भए तुरुन्त प्रहरी र सम्बन्धित अधिकारीलाई फोटो र भिडियोसहित सूचना पुग्ने भएकाले उद्धार कार्य पनि छिटो गर्न सकिनेछ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने, “अपराध गर्नेहरूले पहिले सिसिटिभी क्षति गर्ने गर्छन्। हामीले यस्तो प्रणाली जडान गरेका छौं जसले क्षति भए पनि अर्को क्यामराले विवरण पठाउनेछ। यसको संरक्षणमा सबैको सहकार्य आवश्यक छ।”
सडक र सार्वजनिक क्षेत्रमा गल्ती गर्नेहरूले अब छिटो उम्किन पाउने छैनन्। गुरागाईंका अनुसार यो प्रणालीले अपराधी मात्र होइन, विकासका नियम उल्लंघन गर्ने र गलत संरचना निर्माण गर्नेहरूसम्म निगरानी गर्नेछ।
जडान भएका क्यामराहरू एआई प्रविधिमा आधारित छन्। आठ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्फ्रास्ट्रक्चर फोरम (ONVIF) प्रोटोकलका यी क्यामराले आठ मेगापिक्सल र चार मेगापिक्सलको स्पष्ट भिडियो खिच्न सक्छन्। क्यामराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार र आवतजावतको गणना गर्नसक्ने सुविधा पनि राख्छ। बत्ती गए पनि क्यामरा सञ्चालन हुने व्यवस्था गरिएको छ।

