काठमाडौँ पौष २०/ चाँगुनारायण मन्दिरको ऐतिहासिक कलश यात्रा आज राष्ट्रपति कार्यालयबाट बसन्तपुर फर्किएको छ। दिउँसो करिब १२ बजे देवता स्वरुपका कलश बोकेर पैदल यात्रा सुरु भएको थियो। कलश बोक्ने तीन जना परम्परागत भोटो–धोती र सेतो रुमाल लगाएर शुद्ध ब्रत बसेका थिए।
यात्रा चाँगुनारायणदेखि मुलपानी चौर, दक्षिण ढोका, जोरपाटी, बौद्ध, चावहिल, कालोपुल, नक्साल, जमल हुँदै हनुमानढोका पुगेको थियो। यात्राको क्रममा लक्ष्मी, सरस्वती र नारायणको कलश अलग–अलग बोएर पूजा गरिने परम्परा कायम छ। बसन्तपुर पुगेपछि जीवित देवी श्रीकुमारीले स्वागत गरी विशेष पूजाआजा गरिएको थियो।

चाँगुनारायणको कलश यात्रा लिच्छवीकालीन परम्परा हो। राजा मानदेवको समय (इ.सं. ४६४) भन्दा पनि अघि देखि चलिरहेको मानिन्छ। ऐतिहासिक रूपमा चाँगुनारायणलाई ‘नेपालका अधिपति’ र ‘राजकुलका ईष्टदेव’ मानिन्थ्यो। मल्ल र शाहकालमा पनि यस यात्रा राज्य र देवता बीचको सम्बन्धको प्रतीकका रूपमा काठमाडौँको हनुमानढोका दरबारसम्म लैजान हुन्थ्यो।
कलशमा भगवान विष्णुको शक्ति बास गर्ने विश्वास रहेको छ। यसलाई समृद्धि, वर्षा र शान्तिको प्रतीक मानिन्छ। वर्षमा दुई पटक हुने यस यात्राले महामारी, अनिकाल वा प्राकृतिक संकट हटोस् भन्ने धार्मिक अभिलाषा व्यक्त गर्दछ।
कलश यात्रा सञ्चालन गर्न विभिन्न गुठीहरूले व्यवस्थापन गर्छन् । कलश बोक्ने, बाजा बजाउने, पूजा सामग्री र सुरक्षा दिने काम फरक–फरक समुदायले गर्छन्। यसरी परम्परा, धर्म र सामाजिक सहकार्यले मिसिएको कलश यात्रा नेपाली संस्कृति र श्रद्धाको जीवन्त उदाहरण हो।

