४ करोड ९१ लाख लागतमा बनेको भवन वडाबासीका लागि खुला
काठमाडौँ १५ पौष २०८२ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा निर्माण सम्पन्न भएको आफ्नै प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा दिन थालेको छ । यसअघि वडा कार्यालय नीलसरस्वती मार्गतर्फको सडक खण्डमा सञ्चालन हुँदै आएको थियो ।
करबाहेक ४ करोड ९१ लाख ५२४ रुपियाँको लागतमा निर्माण गरिएको यो भवन अब वडाबासीका लागि सेवा, सहजीकरण र पहुँचको केन्द्र बनेको छ । भवन उद्घाटन गर्दै वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले लामो समयदेखि सीमित समूहको कब्जामा रहेको सार्वजनिक जग्गालाई फिर्ता ल्याएर नागरिक सेवामा प्रयोग गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्ति जनताकै लागि हो भन्ने विश्वासलाई व्यवहारमा उतार्न पाउँदा गर्व लागेको छ ।”
कार्यक्रममा पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यले नयाँ पूर्वाधारसँगै वडाबाट प्रवाह हुने सेवा अझ छिटो, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनले २ हजार ४४३ वर्गफुट क्षेत्रफलको जग्गा ओगटेको छ भने कुल भवन क्षेत्रफल १२ हजार ५२७ वर्गफुट रहेको छ । भवन निर्माणको कुल लागत अनुमान ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनलसहित ५ करोड ५१ लाख ६ हजार ८५ रुपियाँ रहेको थियो ।
२०७८ साल बैशाख १५ गते निर्माण कार्यको आदेश दिइएको यो भवन सोही वर्षको चैत मसान्तभित्र सम्पन्न भएको हो ।
नयाँ भवनबाट प्रशासनिक सेवा सुरु भएसँगै पुरानो वडा भवनमा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको छ, जसले स्थानीयवासीलाई थप सेवा सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

