काठमाडौँ, पुस ७।
स्थानीय विकासमा मिडियाको प्रभाव र सशक्त स्थानीय मिडियाबाट समृद्ध नगरपालिका निर्माण कसरी सम्भव हुन्छ ? यही मूल प्रश्नलाई केन्द्रमा राख्दै ‘बुढानीलकण्ठ संवाद’को चौथो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ।
CERIN Network को आयोजनामा सम्पन्न उक्त संवाद कार्यक्रममा पत्रकार, विज्ञ तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय मिडियाले समुदायका आवाज कसरी बुलन्द बनाउन सक्छ र स्थानीय तहको विकासमा यसको भूमिका कति महत्त्वपूर्ण छ भन्ने विषयमा खुलेर विचारविमर्श गरिएको थियो।
बुढानीलकण्ठ नगरपालिकाभित्रका विविध समसामयिक विषयलाई केन्द्रमा राखेर मासिक रूपमा सञ्चालन हुँदै आएको ‘बुढानीलकण्ठ संवाद’ विशेष गरी स्थानीय तहमै केन्द्रित संवाद कार्यक्रम हो।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को प्रायोजनमा कोटबारी घर रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आयोजना गरिएको यस कार्यक्रमको सहजीकरण सेरिन नेटवर्कका अध्यक्ष रोहन न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष न्यौपानेले ‘बुढानीलकण्ठ संवाद’ स्थानीय तहका समस्या आम नागरिकसम्म पुर्याउने र भविष्यका योजनाहरू निर्माण गर्न सहयोग गर्ने उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो। साथै, यो संवाद श्रृंखला प्रत्येक महिना निरन्तर सञ्चालन हुने पनि उहाँले स्पष्ट पार्नुभयो।
संवादमा वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, लेखक तथा विश्लेषक सुदर्शन आचार्य, नेपालफेस डटकमका सम्पादक माधव पौडेल र बुढानीलकण्ठ नगरपालिका नगर प्रवक्ता नवराज भट्टराईले आफ्ना धारणा राख्नुभएको थियो।
वक्ताहरूले स्थानीय मिडियालाई बलियो बनाउन नगरपालिकाले विज्ञप्तिमा मात्र सीमित नभई अनुसन्धानका लागि आवश्यक तथ्याङ्क र डाटा उपलब्ध गराउनुपर्ने, पत्रकारहरूको क्षमता विकासमा सहयोग गर्नुपर्ने तथा डिजिटल साक्षरता अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
आयोजक टिमले आगामी दिनहरूमा बुढानीलकण्ठका अन्य महत्त्वपूर्ण विषयलाई समेट्दै यस्तै संवाद कार्यक्रमहरू निरन्तर आयोजना गर्ने घोषणा गरेको छ।

