• TOKHA LIVE

    • ९ आश्विन २०८२, बिहीबार २१:५०

    टोखामा नवरात्रि यात्रा : भक्तिभाव र उत्साहसँगै देवी आराधना

    काठमाडौँ, असोज ९ /
    दसैँ सुरु हुँदै गर्दा टोखामा यस वर्ष पनि ‘सांस्कृतिक नौरथ (नवरात्रि) यात्रा’ विशेष श्रद्धा र उत्साहका साथ सुरु भएको छ। आश्विन शुक्ल चतुर्थीदेखि देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको घुइँचो लागिरहेको छ।

    धार्मिक विश्वासअनुसार नवरात्रमा देवी शक्तिको पूजा, आराधना र साधना गर्दा मनोकामना पूरा हुने मानिन्छ। यही कारणले शक्तिपीठहरूमा बिहानैदेखि दर्शन, आराधना र पूजापाठ गर्ने भक्तजनको भीड बढ्दै गएको छ।

    टोखामा नौरथ यात्रा यस वर्ष दस दिन रहेकोे छ। असोज ६ गते सोमबारदेखि सुरु भएको हो। मोहनी नखः दशैको अवसरमा टोखामा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति , नेवा ; गुथी टाेखा मुलनायो लगायत विभिन्न खलपुच:बसेको बैठक  तालिकाअनुसार पहिलो दिन कोलाछ्वमा ६ गते सपनितर्थमा विशेष पूजाबाट यात्रा प्रारम्भ भएको थियो। त्यसपछि ७ गते वासुकी,८ गते  चण्डेश्वरी,९ गते बालकुमारी (भबु द्य:), १० गते बलिन्चा गाबु, ११ गते विष्णुमति (ल्योरः खुसी दोभान), १२ गते टोखा दोभान (मनमैजु),१३ गते गले गाबु, १४ गते गले महादेव  गणेशस्थान हुँदै असोज १५ गते सलखुसी दोभानमा सम्पन्न हुनेछ।

    टोखाका मूल नायो हेमराज श्रेष्ठका अनुसार यो यात्रा धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीक हो। यहाँका मठ–मन्दिर, गल्ली–चोकहरू नवरात्रिको रौनकले झलमल्ल छन्। ध्वजापताका, उज्यालो बत्ती र आकर्षक सजावटले शक्तिपीठहरू झन् मनमोहक बनेका छन्।

    नवरात्रिमा भक्तजनले दुर्गा देवीको स्मरण गर्दै दस दिनसम्म निरन्तर पूजा आराधना गर्ने परम्परा छ। आज चौथो दिन, भक्तहरूले नवदुर्गामध्येकी कुष्माण्डा देवीको विशेष आराधना गरेका छन्। नौ दिनसम्म प्रत्येक देवीको पूजा गरी अन्तिम दिन विजयादशमीमा जमरा लगाउने चलन रहिआएको छ।

    काठमाडौंका गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, शोभाभगवती, दक्षिणकालीलगायतका शक्तिपीठमा पनि भक्तजनको घुइँचो बढेको छ।

    टोखामा भने भक्तिभाव, सांस्कृतिक उत्सव र सामुदायिक एकताको संगमसँगै नवरात्रि यात्रा निरन्तर चलिरहेको छ। श्रद्धालुहरूको अनुहारमा देखिएको उत्साह र आस्थाले दसैँको रंग झन् प्रफुल्ल बनेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै