काठमाडौं, २ जेठ
बुढानीलकण्ठ नगरपालिका–१३ स्थित ऐतिहासिक नौलिन भद्रकाली मन्दिरमा परम्परागत नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रा सिन्दुर उत्सवसहित भव्य रूपमा सम्पन्न भएको छ। वैशाख २७ गते त्रयोदशीदेखि सुरु भएको यो धार्मिक जात्रा ६ दिनसम्म विभिन्न विधि, पूजाआजा र सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासमा मनाइएको हो।
समापनको दिन सिन्दुर जात्राले जात्रालाई अझ रंगीन र भावनात्मक बनायो। तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली र गणेशको खटसहित टुसाल, गाम्चा, शापाटार, चपली हुँदै नगर परिक्रमा गरियो। जात्रामा सयौँ भक्तजनले सिन्दुर दल्दै, नाचगान र बाजागाजासहित सहभागिता जनाए।
नौलिन भद्रकाली मन्दिर काठमाडौं उपत्यकाका प्राचीन काली मन्दिरहरूमध्ये एक मानिन्छ। शिवपुरीको काखमा रहेको गाम्चास्थित यो मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष मानिन्छ।
स्थानीय किंवदन्तीअनुसार परापूर्वकालमा खेतमा काम गरिरहेका किसानहरूले धोबीखोलाको किनारमा रोइरहेकी एक बालिकालाई देखेका थिए। बालिकाले बोल्न नमानेपछि भोकले रोएकी होली भनी खाजा खुवाइयो। आश्चर्यजनक रूपमा उनले सबैको खाजा खाइन्, तर रुन छाडिनन्। एकजनाले थिचेर सम्हाल्ने प्रयास गर्दा ती बालिका त्यहीँ हराइन्। पछि बैद्य र तान्त्रिकहरूले ती बालिका वास्तवमा भद्रकाली भएको संकेत गरेपछि त्यहीँ मन्दिर स्थापना गरिएको जनविश्वास छ।
प्रत्येक शनिबार र पूर्णिमाका दिन यहाँ विशेष भीड लाग्छ भने बुद्ध पूर्णिमाको दुई दिन अघिदेखि सुरु हुने जात्रा बुद्ध जयन्तिसँगै विशेष धार्मिक महत्त्व राख्दछ।

जात्राको पहिलो दिन पंचाबलि दिइएर शुभारम्भ हुन्छ—कुखुरा, हाँस, बोका, राँगो र थुँग्बा चढाइन्छ। तेस्रो दिन बुद्ध जयन्तिमा मुख्य पूजा गरिन्छ भने सोही रात रथलाई विभिन्न स्थानबाट बाजागाजासहित मन्दिर ल्याइन्छ। चौथो दिन गाम्चा चौरमा सिन्दुर जात्रा मनाइन्छ, जहाँ हजारौँ भक्तजनको सहभागिता देखिन्छ।
सिन्दुर जात्रापछि रथहरू पुनः आफ्नो स्थान फर्काइएर जात्राको समापन गरिन्छ।
स्थानीयवासी, भक्तजन र संस्कृतिप्रेमीहरूको उत्साहजनक सहभागिताले यो जात्राले धार्मिक आस्था, परम्परा र सामाजिक एकतालाई थप मजबुत बनाएको छ।

