काठमाडौं, वैशाख २२ — बर्खे भेलाले घरभित्रै डुङ्गा चलाउने दिन नआओस् भन्ने पीरले, सोमबार बुढानिलकण्ठ नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा धर्ना दियो। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त विरोधमा स्थानीय वडाध्यक्षहरू, पूर्व सांसद र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
उनीहरूको माग थियो—तीन वर्षअघि ठेक्का दिइएर दुई वर्षमै सकिने भनिएको कपन क्षेत्रको डुबान नियन्त्रण आयोजना अझै ३० प्रतिशतमै अल्झिनु किन? किन बर्खा लाग्दै गर्दा हिलो, दुर्गन्ध र रोगको त्राससँगै बाँच्न बाध्य पारिन्छ?
नगर प्रमुख अधिकारीले भावुक स्वरमा भने, “हामी आफ्ना जनताको पीडा लिएर आएका हौं। यहाँ कसैको घर होइन, नागरिकको अधिकार सुरक्षित गर्न बनेको कार्यालय हो। जबसम्म प्रत्यक्ष रुपमा समस्या समाधानको प्रतिबद्धता आउँदैन, तबसम्म हामी यही बस्छौं।”
उनले चेतावनी दिए, “अब नागरिक चुप बस्दैनन्। जनताको धैर्यको पनि सीमा हुन्छ।”
प्रदर्शनमा सहभागी स्थानीयले विकास प्राधिकरण र जिल्ला प्रशासन कार्यालयलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे। उनीहरूको एउटै स्वर थियो—काम गर्ने हो भने हिजैदेखि थाल्नुहोस्, ढिलाइको कारण जनताको ज्यान जोखिममा पार्न पाउँदैन।
यसरी कपनका जनताको पीडालाई बोकेर सडकमा उत्रिएको बुढानिलकण्ठ नगरपालिकाले अब समस्या समाधान नगरी चुप लाग्ने पक्षमा छैन भन्ने सन्देश दिएको छ।

