• TOKHA LIVE

      TOKHA LIVE

    • ४ पुष २०७८, आईतवार ०९:२६

    आज योमरी र धान्य पूर्णिमा सरकारले दियो सार्वजनिक बिदा

    टोखा लाइभ ।२०७८ पुष ४ गते

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन नेवारहरूको अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा अनुसार विभिन्न समुदायमा धान्य पूर्णिमा धुमधामसाथ मनाइन्छ ।

    नवअन्नप्राशनका लागि समेत आजको दिन पवित्र मानिन्छ । यो दिन काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत ठूलो मेला लाग्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायमा आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइन्छ । योमरी पूर्णिमालाई योमरी पुन्हि समेत भनिन्छ ।
    नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।
    किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । सरकारले उधौली र योमरी पूर्णिमा तथा राष्ट्रिय ज्यापू दिवसको अवसरमा आज पर्व मनाउने समुदायका लागि देशभर र काठमाडौंमा सार्वजनिक बिदा दिएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै