टोखा लाइभ/ मंसीर २९ ,२०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानबाट शेरबहादुर देउवा फेरि अर्को कार्यकालका लागि कांग्रेसको सभापतिमा चुनिएका छन् ।
नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगलबार भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे । शेखर ९०७ मतअन्तरले पराजित भए । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार निर्वाचन भएको थियो । उक्त निर्वाचनमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने भएका हुन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।

