नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ मंसिर १४,२०७८
चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्। एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा निकटका प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन्।
अत्यन्तै कडा सुरक्षा व्यवस्थाका बिच सोमबार रातिदेखि सुरु भएको मतदानमा एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदानमा खसेको कुल २ हजार ९६ मतमध्ये ओलीले १८४० मत ल्याएर विजयी हुँदा अर्का प्रत्याशी उम्मेदवार भिम रावलले २२३ मत मात्र प्राप्त गरेका हुन् ।
विसं २०७१ असार १९-२५ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए।
२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए।
तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन्। २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताएका थिए।

